अंशिका मिस युनिभर्समा सहभागी हुँदै

काठमाडौं । मिस युनिभर्सको ६९औँ संस्करणमा सहभागी हुन् अंशिका शर्मा संयुक्त राज्य अमेरिका पुगेकी छन् । मिस युनिभर्स नेपाल २०२० की बिजेतासमेत रहेकी उनी आउँदो १६ मेमा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुनेछन् । उनीसँगै मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छन् । विश्वका ७४ देशका सुन्दरीमार्फत छानिने २१ जनाले पहिलो बन्नको लागि मिस युनिभर्समा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०–५ हुँदै बिजेता घोषणा गरिने छ ।

विश्वप्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा भित्र्याएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् । यस्तै उनले यसपटक आफ्नो तयारी पत्रकार सम्मेलनमार्फत कोरोना भाइरसको कारणले गर्न नसकेको बताइन् । उनले अंशिकाको सहभागितासम्बन्धी जानकारी सामाजिक सञ्जालमार्फत गराउने जनाएकी छन् ।

अंशिकाले देशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन पाएकोमा आफू निकै उत्साहित भएको बताइन् । उनले आफूसँगै टिमले सक्दो तयारी गरेको सुनाइन् । उनले भनिन्, ‘यस प्रतियोगितालाई लिएर म निकै उत्साहित छु । किनकी विगत ४ महिनादेखि ट्रेनिङ गरिरहेकी छु । देशलाई नै प्रतिनिधित्व गर्ने भएकाले उत्साहित पनि बनाएको छ ।’ अंशिकाले प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पूर्ण प्रशिक्षण लिएको बताइन् । साथै, यसपटक अद्भूत राष्ट्रिय पोशाकअन्तर्गत नेपालको सर्वोच्च शिखर सगरमाथा झल्किने प्रस्तुति दिने तयारी गरेको जनाइन् । त्यस्तै, नग्माले आफू पनि मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिसकेकाले त्यहाँ प्रतियोगीलाई आवश्यक पर्ने सम्पूर्ण कुरामा ध्यान दिएको बताइन् । उनले भनिन्, ‘हेयर, वाक, स्पिच, स्टाइलिस लगायतका सम्पूर्ण ट्रेनिङ दिएर हामीले तयार गरेका छौं ।’

प्रतिक्रिया