विपन्नको निःशुल्क स्वास्थ्य बिमा गर्दै तामाकोसी

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले विपन्न र गरिब नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । आफ्ना नागरिक आर्थिक अभावकै कारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो । गाउँपालिकाले असहाय बालबालिका, ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, लोपोन्मुख माझी, थामीका परिवार, बिधुवा महिलाको निःशुल्क स्वास्थ्य बिमा गर्ने तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले ६० वर्ष कटेका एकल महिला, दलित, स्वास्थ्य स्वयंसेविका र १३ हजार ५ सयभन्दा कम तलब भएका गाउँपालिका भित्रका सम्पूर्ण कर्मचारीको स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम गाउँपालिकाले बेहोर्ने अध्यक्ष पोखरेलले बताए । ‘नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु गाउँपालिकाको अधिकार क्षेत्रभित्रको विषय हो’, अध्यक्ष पोखरेलले भने, ‘नागरिकको अधिकारको संरक्षण गर्न, आर्थिक रूपले विपन्न बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम सुरुआत गरेका हौँ ।’ नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर सामाजिक स्वास्थ्य बिमा कार्यक्रम निःशुल्क गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया