वैज्ञानिक समाजवाद वादको भरोसायुक्त विकल्प

लोकनारायण सुबेदी

आज विश्व पुँजीवादी उत्पादन पद्धतिसम्म आइसकेको छ । अहिले बिश्वव्यापी रूपमा चलिरहेको संघर्ष नै वास्तवमा पुँजीवादी उत्पादन पद्धति र सामाजिक अर्थात् समाजवादी उत्पादन पद्धतिका बीचको संघर्ष हो । यसलाई स्पष्ट भाषामा भन्दा पुँजीको (नाफाको) केन्द्रीकरण र उत्पादनको (श्रमको) सामाजिकीकरण बीचको संघर्षको रूपमा यो अभिव्यक्त छ ।

यद्यपि अध्ययन गर्दा थाहा हुन्छ कि मानव समाजको इतिहास नै निरन्तर विकल्पको खोजीको इतिहास हो । मनिसले निरन्तर विकल्पको खोजी गरिरहेको हुन्छ । जुन विकल्पहरू मानव समाजका लागि उपयोगी हुन्छन् ती अपनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन् ती परिवर्तन हुन्छन्, गरिन्छन् । अबलम्बन गरिएका विकल्पहरूको पनि सान्दर्भिकता सकिएपछि या त ती परिमार्जित हुन्छन् र केही थप समय चल्छन् या तिनको पनि अन्त्य हुन्छ । यही नै मानव समाजमा निरन्तर चलिरहने क्रम हो । निरन्तर सबैले देख्दै भोग्दै र परिवर्तनमा आपूmसमेत सामेल हुँदै आएको आजसम्मको मानव समाजको अनुभव सिद्ध कुरा नै हो ।

आजको विश्व इतिहास र हाम्रै देशको पनि इतिहासलाई हेर्ने र केलाउने हो भने वास्तवमा मानिसले, मानव समाजले अनेकौँ राजनीतिक परिवर्तन गरेर विभिन्न राजनीतिक पद्धतिलाई अबलम्बन गरे । कैयाँै सामाजिक अन्ध मान्यता र रुढीबुढीलाई पञ्छाएर नयाँ बैज्ञानिक मूल्य मान्यताहरू पनि स्थापना गरे । यस क्रममा कैयाँै नयाँ परम्परा र मूल्य पद्धतिहरूको विकास पनि गरे र तिनमा पनि अझ थप नयाँ कुराहरू जोड्दै थप्दै पनि आए । हामीले उत्पादन पद्धतिका हिसाबले पनि यस सम्बन्धमा हे¥यौँ र विश्लेषण ग¥यौँ भने धेरै ठूलो आमूल र अपूर्व परिवर्तन आएको सहजै देख्न र बुझ्न सक्छौँ । आदिम उत्पादन पद्धति, सामन्ती उत्पादन पद्धति हुँदै आज विश्व पुँजीवादी उत्पादन पद्धतिसम्म आइसकेको छ । अहिले विश्वव्यापी रूपमा चलिरहेको संघर्ष नै वास्तवमा पुँजीवादी उत्पादन पद्धति र सामाजिक अर्थात् समाजवादी उत्पादन पद्धतिका बीचको संघर्ष हो । यसलाई स्पष्ट भाषामा भन्दा पुँजीको (नाफाको) केन्द्रीकरण र उत्पादनको (श्रमको) सामाजिकीकरण बीचको संघर्षको रूपमा यो अभिव्यक्त छ । त्यसैले पुँजी र श्रम बीचको संघर्ष, पुँजीवादी वर्ग र श्रमजीवी वर्ग बीचको संघर्ष हो यो । कुनै मनोगत रिस–राग, वैमनस्यता र बदला लिने मनोगत भावनाबाट प्रेरित र विकसित भएको कुरा होइन परस्पर विपरीत तत्वको भौतिक या वस्तुगत उपस्थितिका कारण अनिवार्य बनेको कुरा हो, त्यसैले क्रान्ति अवश्यमभावी छ, यसलाई कसैले रोकेर रोक्न सकिँदैन भन्ने निष्कर्ष निस्किएको या निकालिएको हो । त्यसैले वर्ग संघर्षलाई व्यक्तिगत झै–झगडाको कुरा नभएर यसलाई निर्वैयक्ति हुन्छ भनिएको हो ।

आज विश्वमा पुँजीवादी उत्पादन पद्धति जति सबलताकासाथ स्थापित भएको छ त्यसलाई परिवर्तन गर्ने सामाजिक उत्पादनका शक्तिहरू पनि लागेपुगेसम्म जोडबल लगाइरहेका छन् । तर त्यो प्रयत्नलाई कमजोर तुल्याउन र आपूmलाई बचाउनका लागि पुँजीवादले सबै किसिमका प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूसँग सम्झौता र साँठगाँठ गरिसकेको र गरिरहेको छ । यो आजको पुँजीवादको आमचरित्र नै बनिसकेको छ र हो । विकासको यस प्रकारको द्वन्द्वलाई सही किसिमले बुझ्दै अघि बढ्नाले समाज बिकासको सही बाटो प्राप्त गर्न सहज हुन्छ । अन्यथा विकासका भावनात्मक नाराहरूको तेज धारमा बगेर जाने कुण्ठित या यथास्थितिवादी कुरा नै सामान्यरूपमा भइरहेको हुन्छ ।

समाजको सकारात्मक र उध्र्वगामी आमूल परिवर्तन र विकासको सन्दर्भमा के कुरामा एकदमै प्रष्ट हुनु पर्दछ भने आर्थिक विकास या समृद्धिले मात्र मानिसलाई मनुष्यताको गरिमा प्रदान गर्नेछ भन्ने कुरा निश्चित छैन । यसको अर्थ हो आर्थिक विकास मानवीय गरिमाको कुनै प्रत्याभूति होइन । किनभने एकपक्षीय आर्थिक विकासका कारण सामाजको बहुसंख्यक वर्ग विकासको पहुँचबाट वञ्चित रहन जान्छ र त्यस कारणले गर्दा मनुष्यको गरिमापूर्ण जीवनबाट टाढै रहन पुग्दछ या बाध्य हुन्छ । त्यसैले सामाजिक समानताका लागि आर्थिक असमानता मेटिनुपर्ने कुरा आएको हो र त्यसले सामाजिक समानता कायम गर्न आधारभूमि तयार गर्दछ भनिएको हो । वास्तवमा सामाजिक असमानताका विरुद्ध निरन्तर संघर्ष चल्दै आएको कारण नै यही हो । मानब समाजको संघर्षको इतिहास नै भन्ने हो भने यही विषमता हटाउने संघर्षको इतिहास हो र यसैलाई माक्र्सले ‘वर्ग संघर्षको इतिहास’ भन्ने सार्थक संज्ञा दिएका हुन् । तर उत्पादनका साधनहरूमाथि हैकम जमाउने शक्तिहरूको एकाधिकारका कारण यो विषमता या असमानता विरोधी संघर्षले अहिलेसम्म समानताको मानव समाजको साझा सपना साकार तुल्याउन सकिरहेको छैन ।

आज त पुँजीवादी अत्याधुनिक कर्पोरेट आर्थिक विकासको बाटोका कारण सामाजिक कल्याण र सरोकारको विषयहरू नै ओझेलमा पर्दै गएको या परिसकेको अवस्थाबाट हामी गुज्रिरहेका छौँ । उदाहरणका लागि बस्तुतः खाद्यान्न सुरक्षाको नीति कर्पोरेट पद्धतिका लागि एकदमै अमान्य छ । यसका अतिरिक्त विपन्न वर्गलाई दिइने अनुदान या सब्सिडीलाई पनि यस पद्धतिले मन पराउँदैन । यसले त मजदुरहरूको अधिकार सुरक्षित राख्ने खालका श्रम कानुनहरूलाई नै बदल्न चाहन्छ र ‘हायर एन्ड फायर’ गर्ने नीति अबलम्बन गरेर श्रमिकहरूलाई जतिबेला पनि निष्काशन गर्न सक्ने खुल्ला स्थिति सिर्जना गर्न चाहन्छ र गरिरहेको छ । यसरी पुँजीवादको पकडमा उत्पादन पद्धतिलाई राख्ने र चलाउने कसरतमा सरकार बदल्ने, सत्ता बदल्ने र सामाजिक संघ–संस्था बदल्ने या विकल्प खोज्ने प्रक्रिया चलिरहेको छ, चलाउँदै आएको छ । चुनावहरू पनि यसै परिधिभित्र हुने गरेका छन् र हुन्छन् । यस्तो अवस्थामा परिवर्तनपछि पनि जनताको हालत उस्तै रहनु र अझ खस्किनु अस्वभाविक हँुदैन । किनकि कर्पोरेट शक्तिलाई मानेर चल्दा विपन्न, वञ्चित, बहिष्करण र असमानतामा परेका बहुसंख्यक जनता छुट्छन् । त्यसैले कुनै पनि चुनावको बेला चकाचौध बिकासका भावनात्मक नाराको तिरीमिरी जनतालाई देखाएर मतलिने काम हुदै आएको हो र यस्तो भइरहन्छ । तर त्यस्ता निर्वाचनहरूले विषमता झेलिरहेका विपन्न बर्गका बहुसंख्यक श्रमजीवी जनताका समस्या हल हुने वातावरण फेरि पनि बन्दैन । त्यसले त कर्पोरेट जगतको जठराग्नि(पेटको भोक) अर्थात् आगोलाई मात्र शान्त पार्दछ ।

यसबाट के स्पष्ट हुन्छ भने बहुसंख्यक विपन्न बर्गका जनताका लागि आधारभूत अर्थ–राजनीतिक आमूल परिवर्तन अवश्यमभावी छ । यस्तो ठोस जगविनाको सतही र उपरी परिवर्तनले मात्र उत्पादनमा लाग्ने तर उत्पादनका साधनहरूबाट वञ्चित रहने आधारभूत वर्गले झेलिरहेको विपन्नता, बेरोजगारी, विकासविहीनता र त्यसबाट निरन्तर सिर्जित विषमताबाट मुक्त हुने स्थिति बन्दैन । यो कसैको मनोगत र भावनात्मक कुरा होइन, यथार्थ वस्तुगत जगतले सिर्जना गरेको कुरा हो ।

विपन्न वर्ग र समुदायको हातमा मोबाइल, ल्यापटप, आइप्याड थमाइदिएर मात्र पुग्दैन । विज्ञान र प्रविधिको अत्याधुनिक विकासका उपलब्धीहरू उनीहरूले स्वामित्व लिएर ठोस उपयोग गर्नसक्ने अनुकूल र उचित मानवीय वातावरण बनाइनु सर्वोपरी र अत्यावश्यक छ । त्यसको निमित्त देशले आज विकल्पको खोजी गर्नु नै पर्दछ । त्यो जनताको जीवनस्तर, मानवीय गरिमा र गौरवसँग गाँसिएको आधारभूत विकल्पको खोजी हो । टालटुले कुरा गरेर जनता अल्मल्याउने विकल्प होइन । देशको साँचो अर्थमा समुन्नति चाहने प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरूले गम्भीर रूपमा सोच्नुपर्ने कुरा नै आज यही हो ।

तर, हामीकहाँ के बिडम्बना रहँदै आएको छ भने हामी परिवर्तनका कुराहरूलाई संकीर्ण राजनीतिक स्वार्थ र सीमित परिधिभित्र राखेर मात्र हेर्ने र त्यसैमा रमाउने मूलतः यथास्थितिवादी प्रवृत्ति व्याप्त छ । परिवर्तन आमजनता, समाज र राष्ट्रको लागि हो भन्ने भावधारा नै हामीकहाँ विकसित हुन सकेन । यसको मूल कारण हो – पुरानो सन्दर्भहीन भइसकेको उत्पादन पद्धति र पराश्रयी मनोवृत्ति । यी दुई कारणले गर्दा हरेक परिवर्तनपछि उत्साहित आमजनतालाई निराश तुल्याउने काम पटकपटक हँुदै आएको छ र भइरहेको छ । हाम्रो पछिल्लो निकै ठूलो राजतन्त्रलाई नै विस्थापित गर्ने राजनीतिक परिवर्तनपछि पनि त्यही कुरा दोहोरिएको छ र अझ जटीलरूपमा पराबलम्बी मनोवृत्ति देखापरेको छ । सामन्तवादबाट राष्ट्रिय पुँजीवादमा विकास हुनुपर्नेमा त्यो दलालपुँजीवादमा विकास भएर गइरहेको आजको जुन सामन्ती–दलाल पुँजीवादी वर्गीय मनोवृत्ति विकसित भएको छ त्यो राष्ट्रिय हित, दूरगामी भबिष्य तथा अग्रगामी परिवर्तन सबै कुराका लागि अत्यन्तै हानीकारक छ ।

यद्यपि, हामीकहाँ पनि अहिले प्रायः सबैले समाजवादको दिशामा कम्तिमा शब्दमा नै सही आपूmलाई अभिमुख गराउन खोजेको प्रतीत हुन्छ । कुनै तोडमोड नगरी सही रूपमा समाजवादलाई अपनाउने हो भने त्यो श्रोत साधन र उत्पादनको सामाजिकीकरणबाहेक अरू केही हुँदै होइन । यो सामाजिकीकरणले एकातिर समभावको बातावरण बनाउने र मानव जाति सबै समान हुन् भन्ने कुराको उद्बोधन गराउँदछ भने अर्कोतिर समाजकाप्रति समान दायित्व र कर्तब्यबोधको भावना र सकारात्मक अग्रगामी मनोवृत्ति पनि जगाउँछ । २१औँ शताब्दीको समाज समानता, न्याय र समुन्नतिको समाजवादी बाटोमा हिँड्नुबाहेक अरू कुनै मानवीय विकल्प पनि छैन । तर, त्यो जनतालाई रंगिचंगी सपना देखाउने काल्पनिक समाजबाद होइन, उनीहरूको जीवन चौतर्फीरूमा समुन्नत तुल्याउने वैज्ञानिक समाजवाद एक मात्र भरोसायुक्त विकल्प हो । यस्तो समाजवाद त्यस पूर्वको नयाँ जनवादी क्रान्ति सम्पन्न नभई सम्भव नै हुँदैन । वैज्ञानिक समाजवादतर्फ सही किसिमले जानका लागि आज बुझ्नुपर्ने मूख्य सार कुरा नै यही हो । यसैका लागि क्रान्तिकारी कम्युनिस्ट शक्तिहरू केन्द्रित र संघर्षशील हुन आजको आवश्यकता हो । त्यस्ता शक्ति, समूह, व्यक्ति जोकोहीका बीच पनि कार्यगत, सहकार्यगत, मोर्चागत र पार्टीगत एकताको खोजी पनि यही आधारमा गरिनु सही हुन्छ । जुन विचारको प्रक्षेपण नेपालको सन्दर्भमा कमरेड पुष्पलालले गरेका हुन् र त्यसको सान्दर्भिकता आज पनि उत्तिकै छ र अझ बढ्न गएको छ ।

प्रतिक्रिया