हरेक दिन चुलिदैं कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा पिसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को स्वाब परीक्षण गरिएको थियो । अब देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ ।
कोरोना संक्रमण भएका चार हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । आइसीयुमा ६०० र भेन्टिलेटरमा १५६ जना उपचार गराइरहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय ७५ पुगेको छ । यस अवधिमा एक हजार ९ सय ९३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ८९ हजार ७८३ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा तीन हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंँमा दुई हजार ८ सय ४९, भक्तपुरमा ४ सय ५८ र ललितपुरमा ५ सय १८ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया