इभाङ–चतुरे सडकमा प्राइमकोट बिछ्याउने काम सुरु

इलाम । इलामको माङसेबुङ गाउँपालिकास्थित इभाङ–चतुरे सडकको कालोपत्रेको काम तीव्र बनाइएको छ । सडकमा अलकत्रा प्राइमकोट बिछ्याउने काम सुरु भएको छ । माङसेबुङ–२ को तिखे गोलाइबाट माङसेबुङ–३ को चतुरे मोडस्थित दमक चिसापानी सडकसँग जोड्ने १३ दशमलव २७९ किलोमिटर सडकको कालोपत्र लगाउनु अघिको प्राइमकोट बिछ्याउने काम सुरु भएको हो । माङसेबुङ–३ चतुरे मोडबाट प्राइमकोट विछ्याउने काम सुरु कन्ट्याक्ट मेनेजर योगेन्द्र कार्कीले बताए । प्राइमकोट बिछ्याउने काम सुरु भएपछि चाँडै कालोपत्र हुने विश्वास स्थानीयमा बढेको छ ।

गतवर्ष यहि बेला लकडाउनका कारण स्थगित भएको सो सडक लकडाउनपछि पुनः तीव्र गतिमा अगाडि बढाइएको थियो । अहिले जम्मा कामको ८० प्रतिशत काम सम्पन्न भइसकेको र मनसुन सुरु हुनु अगावै कालोपत्रे लगाइसक्ने लक्ष्य रहेको सडकका इन्जिनियर राजेन्द्रप्रसाद यादवले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत ३१ करोड रुपैयाँको लगानीमा काम भइरहेको छ ।

निर्माण कम्पनीले पाँच वर्षको अवधिमा उक्त सडकको कालोपत्रे गर्ने कामको चरणगत रूपमा कार्य सम्पन्न गर्नुपर्ने सर्त रहेको छ । वर्ष वर्षमध्ये दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माणका बखत भएका कमी कमजोरी सच्याएर सुधार गर्नका लागि अर्काे एक वर्ष दिइएको छ । बाँकी दुई वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्नुपर्ने समय कम्पनीलाई दिइएको छ ।

आयोजनाका लागि नेपाल सरकारको २० प्रतिशत र एसियाली विकास बैंकको ऋण ८० प्रतिशत खर्च हुने भएको छ । गत २५ मंसिर ०७५ मा आयोजना कार्यान्वयनका लागि कालिका जेभी कम्पनी र डोलीडारबीच सम्झौता भएको थियो । जम्मा ३ दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र नालीबाहेक ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुनेछ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा कालोपत्र सुरु भएपछि त्यहाँका बासिन्दा उत्साहित भएका छन् । सो सडक कालोपत्रे भएपछि माङसेबुङ क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा सर्वसाधारणको छ ।

प्रतिक्रिया