निषेधाज्ञाको असर : उपचारदेखि खाद्यान्न आपूर्तिमा समेत समस्या

हुम्ला । हवाइजहाजको भरमा दैनिक उपभोग्य सामान आयात हुने हुम्लामा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । जिल्लाभरका हरेक स्थानीयमा दैनिक उपभोग हुने खानेतेल, तरकारी, औषधिलगायत अन्य सम्पूर्ण सामान नेपालगञ्ज, सुर्खेतबाट भित्रिने गरेको छ । हरेक दिन हवाइजहाजबाट सामान नियमित ढुवानी हुने भएता पनि कोभिडको दोस्रो लहरको निषेधाज्ञासँगै हवाई कम्पनीले पनि बुधबारबाट उडान स्थगित गरेका छन् ।

हवाई कम्पनीले सिमकोट विमानस्थलमा हवाई उडान बन्द गर्ने निर्णयले हुम्लाको अधिकांश क्षेत्र प्रभावित बनेको छ । काम विशेषले जिल्ला बाहिर जानुपर्नेसमेत रोकिएका छन् । बिरामीलगायत अन्य विशेष कामले आवतजावत गर्नेको लागि हवाई सेवा बन्द हुँदा समस्या भएको छ । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा सेवा दिन नसकिने र थप उपचारको लागि जिल्ला बाहिर जाने बिरामी समस्या पर्ने भएका छन् । जिल्लाको अस्पतालमा कोभिडलगायत अन्य बिरामीका लागि अक्सिजनलगायत अन्य आवश्यक पर्ने स्वास्थ्य सामग्रीसमेत हवाइजहाजबाट भित्र्याउनुपर्ने भएको कारण थप समस्या हुने भएको छ ।

आवको उत्तरार्धमा हुम्लाका हरेक विकास निर्माणको कार्य हवाइजहाज उडान रोकिँदा अवरोध भएका छन् । निर्माणका सामग्री सिमेन्ट, रड, ग्याबिन लगायतका सामान हवाइजहाजले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट निर्यात गर्ने गरिएको छ । हिउँदको महिनामा हिउँले छोप्ने र सिमेन्ट नजम्ने भएकोले विकास निर्माणका काम गर्नको लागि वैशाख महिनादेखि हुम्लामा सुरु हुने गरेका छन् । निर्माणका रहेक योजना सम्झौता भई काम सुरु गर्नुपर्ने बेलामा हवाइजहाजको उडान रोकिनु भनेको हुम्ला ठप्प हुनुसरह भएको सिमकोट गाउँपालिकाका लेखाप्रमुख हिमाल रोकायाले बताए ।

हुम्लाको स्थानीय प्रशासनले २१ वैशाखको राती १२ बजेबाट लागू हुने गरी जिल्लाभर लकडाउन गरेको छ । स्वास्थ्य, शान्ति सुरक्षा, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिएम सेवामा खुल्ने गरी फुल लकडाउन गरेको छ । यातायातको साधनमा बिरामी बोकेको तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनलाई मात्र अनुमति दिइएको छ ।

हुम्लामा वैशाख २० गते सुर्खेतबाट तारा एयरको विमानमा सवार भई हुम्ला आएका ११ जना मध्ये आठ जनामा एनटिजिन प्रविधिमार्फत चेकजाँच गर्दा आठ जनामा कोभिड पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले कडाइकासाथ लकडाउन गरेको छ । बाटोमा हिँडडुल गर्दा, एक ठाउँदेखि अर्को ठाउँ जाँदा अनिवार्य रूपमा मास्कको प्रयोगमा स्थानीय प्रशासनले कडाइँ गरेको छ । यदि मास्क नलगाई हिँडेको पाइएमा हरेक व्यक्तिबाट सय रुपैयाँ जरिवानासमेत गर्ने गरेको छ । कोभिड पोजेटिभ देखिएका संक्रमितलाई सिमकोटको रानीवन क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लाका अन्य स्थानीयतहले क्वारेन्टाइनलगायत अन्य औषधोपचारको कुनै पनि व्यवस्था गरेका छैनन् । सम्पूर्ण औषधिजन्य सामग्री जिल्ला बाहिरबाट हवाइजहाजमा ल्याउनुपर्ने र हवाइजहाजको उडान रोकिनुले थप समस्या भएको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । यसअघि भित्र्याएको सामग्री अपुग भएकोले थप स्वास्थ्य सामग्री झिकाउन कठिन भएको धामीले बताए । हुम्लाका सबैजसो स्थानीयतहमा यतिखेर मास्क, स्यानिटाइजरसमेत अपुग स्थितिमा रहेको छ ।

नाकाबाट जिल्ला भित्रिने व्यक्तिलाई स्थानीय सरकार र प्रहरीको रोहबरमा सम्बन्धित स्थलमा पु¥याउनका लागि सहजीकरणसमेत व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय, हुम्लाले एक सूचना प्रकाशन गरेको छ । दैनिक उपभोग्यका वस्तु किनबेचका लागि बिहान ७ बजेदेखि १० बजेको समयमा मात्र खुल्ला राख्नका लागि सूचित गरेको छ । गत वर्ष भएको लकडाउनमा एक हप्ता हवाई सेवा रोकिएको भएता पनि यो वर्ष स्थानीय प्रशासनले यससम्बन्धी कुनै पनि पहल गरेको छैन । सुरुमा कार्गो सामान आयातमा निर्यात भएको भएता पनि पछि सुरक्षा सतर्कता अपनाएर जिल्ला भित्रिनका लागि अनिवार्य पिसिआर चेकजाँच पछि अनुमति रहेको थियो । जिल्लाका सात वटै गाउँपालिकाले क्वारेन्टाइनलगायत अन्य बन्दोबस्त गरेको भएता पनि यससम्बन्धी स्थानीय सरकारले यसपटक कुनै चासो देखाएका छैनन् । सुरक्षा निकायले गस्तीमा पनि माइकिङ गरी जनचेतनासम्बन्धी सूचना जानकारी दिने गरेको छ । बजार र आवास क्षेत्रमा सुरक्षा सतर्कता अझ कडा पारिएको छ । काम विशेषबाहेक घरभन्दा बाहिर नजानका लागिसमेत स्थानीय सुरक्षाकर्मीले अनुरोध गर्ने गरेका छन् ।

उता खाद्य संस्थान शाखा कार्यालय, हुम्लाले चामलको मौज्दात न्यून रहेको जानकारी रहेको छ । खाद्यान्नका लागि हवाइजहाजबाट मात्र चामलको ढुवानी हुने गरेको भएता पनि हवाइजहाज उडानको रोकपछि हुम्ला जिल्ला डिपोलाई आवश्यक पर्ने जति खाद्यान्न नहुँदा वितरणमा समस्या हुने शाखा प्रमुख निर्मल थापाले बताए । भएको चामललाई जोगाएर वितरण गर्नुपर्ने अवस्था भएको कारण पनि चामलको मौज्दातमा समस्या भइरहेको थापाले बताए ।

प्रतिक्रिया