सकेसम्म संक्रमित नबन्ने कोशिस गरौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी

मैले नै जेठ र असारमा हामी संक्रमणको उच्चतम बिन्दुमा पुग्छौँ भनेर संसद्मा भन्दा कतिपय नेताले ‘ज्योतिष नबनौँ’ भने । ज्योतिष नबन्नोस् भन्नेमध्ये कतिलाई संक्रमण भइसक्यो । कोभिड बेडको अभाव हुँदै गइरहेको छ । हामीले स्वास्थ्यका मापदण्डका लागि जोड दिइरहेका छौँ ।

जुन ढंगले कोरोना बढिरहेको छ, जसरी भारतबाट नेपाली दाजुभाइ आइरहेका छन्, जति प्रतिशत देखिएको छ, यो वास्तवमा चिन्ताजनक छ । अधिकांश होम आइसोलेसनमै जानुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौँ । स्थानीय तह र प्रदेशले त्यही अनुसार काम गरिरहेका छन् । केही प्रदेश सरकारले सहज ढंगले अघि बढाउन कोशिस गरेका छन् । आज कति हजार नेपाली नेपाल प्रवेश गर्ने हुन्, कसैलाई थाहा हुँदैन । नाकामा आइसकेपछि थाहा हुन्छ । संकटका बेला देश र घर सम्झिन्छन् । उनीहरूलाई रोक्नुहुन्न । उनीहरूको टेस्ट भइरहेको छ । आँकडा त्यसैबाट आइरहेको छ । हामीले नै टेस्टबाट स्थापित गरेका निष्कर्षहरूबाट हामीलाई नै आलोचना गर्ने भइरहेको छ । अरूले ग्रन्थ लेख्लान्, हाम्रो लागि यो सूचक हो । सरकारले आठ ठाउँमा एक÷एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने भनेको छ । त्यसको काम भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयको भर्खरैको विज्ञप्तिपछि धेरैले ‘स्वास्थ्य मन्त्रालयले हात उठायो’ भन्ने टिप्पणी गरेका छन् । यो बुझाइको कमी हो । स्वास्थ्य मन्त्रालयले विषयको गम्भीरतालाई जनमानससम्म पु¥याउन खोजेको हो । सरकारले भ्याक्सिन निःशुल्क लगाइरहेको छ, उपचार निःशुल्क गरिरहेको छ । मन्त्रालयले भन्ने खोजेको के हो भने अवस्था अलिकति जटिल भइरहेको छ । कोभिड बेडको अभाव हुँदै गइरहेको छ । हामीले स्वास्थ्यका मापदण्डका लागि जोड दिइरहेका छौँ, त्यसलाई अगाडि बढाउन आग्रह गरेको हो मन्त्रालयले ।

एउटा व्यक्तिको जीवन महत्वपूर्ण कि आर्थिक गतिविधि ? नेपाल सरकारले सुरुदेखि नै व्यक्तिको जीवन महत्वपूर्ण ठान्यो । त्यसैअनुसार आफ्नो कामकारबाही अगाडि बढायो । हामी शनिबार बैठक बसेर काठमाडौं उपत्यकामा मात्रै एक हजार कोभिड बेड (आइतबार) साँझसम्म थपिसकेका छौँ । बेडको अभावमा कसैलाई छटपटिएर उपचारबाट वञ्चित हुन दिन्नौँ । सिलिन्डरको अभावमा अक्सिजन कम हुन सक्छ । सरकारले २० हजार सिलिन्डर चीन सरकारबाट ग्रान्टमा ल्याउँदैछ । बाहिर बसेर टीक्काटिप्पणी गर्नेलाई यति मात्रै भन्छु, सुरक्षित रहनुहोस् । सुरक्षित रहनुभयो भने टीकाटिप्पणी गर्न लायक हुनुहुन्छ ।

संघमा २५÷२६ हजार कर्मचारी, ३५ हजार प्रदेशमा र २२ हजार कर्मचारी हाम्रा स्थानीय तहमा छन् । यही ढंगले वैशाख ६ गते आदेश जारी ग¥यो । यसको मूल उद्देश्य भनेको कुन सरकारले के गर्ने, प्रमुख जिल्ला अधिकारीले के गर्ने, नागरिकले के गर्ने भनेर भनिएको छ । एउटा भनाइ छ, ‘पूरै सरकार र पूरै समाज ।’ सरकारका सबै अंग र समाजको सबै अंग एकसाथ मिल्दैनन्, एकीकृत भएर काम गर्दैनन्, त्यो बेलासम्म महामारी अन्त्य हुँदैन । हामी पूरै सरकार एक ठाउँ आउने वातावरण बनाउँछौँ, पूरै समाज पनि एक ठाउँ आउने वातावरण बनाउनुप¥यो । यो संक्रमण व्यक्तिले व्यक्तिलाई सार्ने र समुदायमा पुग्ने हो । रहने व्यक्तिमा हो । सुरुदेखि नै स्वास्थ्यका मापदण्ड पालना गर्न हामीले भन्यौं । महामारी उपचार मात्रै होइन, रोकथाम सही विधि हो । महामारी फैलिएको बेला रोकथामका कदम प्रभावकारी रूपमा चालियो भने मात्रै रोक्न भनेर राजनीतिक दल, समाज र सबैलाई बुझाउन खोजिरहेका छौँ ।

भरसक लकडाउनमा नजाऔँ भन्ने नै थियो । वैशाख ६ गतेको हाम्रो आदेशको पूर्ण पालना भएको भए लकडाउनमा जानु पर्दैनथ्यो । त्यो पालना भएन, निषेधाज्ञामा जानुप¥यो । अहिलेको भेरियन्ट आक्रामक पनि छ, अत्यधिक संक्रामक पनि छ । कन्ट्याक्ट ट्रेसिङका लागि पहिलेको यो हिसाबले कमजोर थियो । अहिले युवा समूह र बालबालिकालाई पनि भइरहेको छ, पहिले निश्चित उमेरसमूहभन्दा माथिका लागि बढी जोखिम थियो । बाँकीले आफैँ पचाइसकेको अवस्था थियो ।

विज्ञहरूले स्थानीय तहको सहयोग लिएर कुनै ठाउँ विशेषको संक्रमणको अनुपात लिएर त्यसलाई छुट्टै व्यवस्थापन गर्नुपर्ने, छुट्टै त्योसँग जुध्नुपर्ने सुझाव आएको छ । यदि कन्ट्याक्ट ट्रेसिङ नभएको भए यो संख्या आउँथ्यो कसरी ? मैले बुझाउनै सकिनँ, हाम्रै तथ्यांकलाई इंकित गरेर हामीलाई नै सिकाउन आउँछन् सबै मान्छे । हामीले नै गराइदिएको हो त्यो संक्रमण भनेजस्तो गर्छन् । यसप्रकारको चिन्तनको दरिद्रतालाई मैले दया मात्रै प्रकट गर्न सक्छु ।

महामारीको अर्को लहर आउने पूर्वानुमान गरिएकै थियो । जनशक्तिको अभाव पोहोर पनि भएको हो । यसपल्ट पनि फेरि दोहोरियो । जनशक्तिको व्यवस्थापनमा हामी कहाँ–कहाँ चुकेका रहेछौँ ? भन्ने प्रश्न पनि आइरहेको छ । महामारीको बेलामा एउटा जनशक्ति चाहिन्छ । सामान्य समयमा अर्को जनशक्ति चाहिन्छ । चुक्ने कसैले होइन, सत्य यही हो । मैले नै जेठ र असारमा हामी संक्रमणको उच्चतम बिन्दुमा पुग्छौँ भनेर संसद्मा भन्दा कतिपय नेताले ‘ज्योतिष नबनौँ’ भने । ज्योतिष नबन्नोस् भन्नेमध्ये कतिलाई संक्रमण भइसक्यो ।

हाम्रो हेर्ने दृष्टिकोण र आफू मात्रै जानकार हुने जुन रोग छ, के बुझ्नुपर्छ भने यो मेरो विषय होइन । इञ्जिनियरिङ मेरो विषय हुन सक्छ, अर्थशास्त्र मेरो विषय हुन सक्छ तर मेडिकल साइन्स मेरो विषय होइन । दाबी पनि गर्दिनँ । यहाँ जो विशेषज्ञ छ, त्यसैको विश्वास गर्छु । आवश्यक जनशक्ति करारमा लिन सक्नुहुन्छ भनेका छौँ अस्पताललाई । सुरुमै उच्चतहका पदाधिकारीलाई विभिन्न प्रदेशमा पठाइयो । यहाँ काम भइरहेको छ । प्रचार भएपछि काम भयो, नत्र भएन भन्ने जुन मनोविज्ञान छ, त्यो घातक छ । आन्तरिक तयारी हुन्छ, कुनै जरुरी छैन कि त्यो बाहिर सार्वजनिक गर्नुपर्छ । महामारीबाट बचाउनका लागि सबै कदम प्रभावकारी रूपमा पालना गरौँ । संक्रमित भइसकेपछि उपचार गरौँ ।

नियत र नीति अलग–अलग विषय हुन् । कहिलेकाहीँ नीति राम्रो भए पनि नियत खराब भयो भने काम हुँदैन । खोपका विषयमा मलाई सम्झना छ, कतिपय नेताहरूले ‘मागेको धोतीले हाम्रो आङ छोपिन्न’ भनेर गीत गाएका थिए । ती नेताहरूको नियतमा त्यही थियो । मनमा लघुताभाष र कुण्ठा थियो । त्यसका पछाडि हामी जाँदैनौँ । आवश्यक कोभिड खोपका लागि पहल गरिरहेका छौँ आउँछ । हाम्रो लागि जुन खोप काम लाग्ने हो, त्यसका लागि पहल गरिरहेका छौँ । यसो भन्नुको अर्थ माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने खोप हामीकहाँ ल्याएर काम लाग्दैन । त्यहाँ विज्ञानले काम गर्छ, भावनाले काम गर्दैन । विज्ञानका आधारमा सम्भावित सबैतिर पहल गरिरहेका छौँ । विश्वका धेरै देशमा भ्याक्सिन छिरेको छैन । हामी त्यो अवस्थामा छैनौँ । खोप आउँछ, सरकारले गरेको प्रतिवद्धता पूरा गर्छ । हामीले खोप बनाएका छैनौँ, ल्याउने नै हो । सीमित देश र कम्पनी छन् । खरिद गर्दा यो व्यापारिक वस्तु हो तर, यथार्थमा यो राजनीतिक वस्तु हो । राजनीतिक रूपले गर्ने प्रयास भइरहेका छन् ।

नयाँ स्वरूपमा के देखियो भने पोजिटिभ देखिएको केही दिनमै गम्भीर बनेको देखियो । संसारमा वैज्ञानिकलाई पनि थाहा थिएन । नयाँ भाइरस, नयाँ चरित्रमा आइरहेका छन् । हामीकहाँ सरकारी स्वास्थ्य प्रणाली मात्रै होइन, निजी स्वास्थ्य क्षेत्रको पनि उत्तिकै भर पर्नुपर्ने अवस्था छ । निजी स्वास्थ्य संस्थाहरू आपैmँ हातेमालो गर्न आउँदैनन् । निजी क्षेत्रले वक्तव्य जारी गर्छ होला । हामी नै गएर कतिपय मेडिकल कलेजसँग सम्झौता गरेका छौँ । स्वास्थ्य मन्त्रालयलाई आवश्यक परेका बेला निजी मेडिकल कलेज र संस्था प्रयोग गर्न पाउने सरकारको आदेश छ । त्यसैको प्रभावले होला, केही सहमति गर्न आइपुगेका छन् ।

कोरोनाको यो लहर कहिलेसम्म उच्च विन्दुमा पुग्छ र कसरी नियन्त्रण गर्ने भन्नेमा स्वास्थ्य मन्त्रालयको आँकलन र योजना के छ ? भन्ने जिज्ञासा सर्वत्र उत्पन्न भइरहेको छ । महामारीलाई विभिन्न सिद्धान्तअनुसार आँकलन गर्ने हो । त्यसरी हेर्दा हामी अझै केही समय अप्ठ्यारोमा पर्ने देखिन्छ । त्यसको तयारीका लागि स्वास्थ्य मन्त्रालय आन्तरिक तयारी गर्दैछ । निषेधाज्ञाका कारण आमजनमा परेको प्रभाव हामीले बुझेका छाँै । यसमा हामी तयारी गर्दैछौँ । यो सबै जीवन जोगाउन गरिरहेका हौँ । खुला रूपमा जाँदाजाँदै स्थिति यो आयो । नरम कदमलाई कसैले पालना गरिदिएन । गरेको भए अवस्था फरक आउँथ्यो होला । त्यसकारण अहिले पनि बचेर बस्नुपर्छ । आफ्नै हातमा छ, विवेकमा छ । सकेसम्म संक्रमित नबन्ने कोशिस गरौँ । संक्रमित नहुनोस्, सबैलाई शुभकामना छ । (स्वास्थ्य मन्त्री त्रिपाठीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया