अञ्जु कार्की
भारतमा यतिबेला सरकारी स्तरको अक्सिजन पहँुचवालाले मात्रै पाउने, र पहुँवालाका लागि जगेडा राखिने भयावह अवस्था एकातिर देखापरेको छ भने अर्कातिर निजी क्षेत्रको अक्सिजन सर्वसाधारणको पहुँचमा छैन । नेपालमा पनि भित्रभित्रै यो अवस्था देखिएको सुनिन थालेको छ । समाचारमा आएअनुसार कर्णाली प्रदेशको सुर्खेतमा यो अवस्था देखिइसकेको छ ।
यो आलेख तयार पार्दासम्म भगवान् पशुपतिनाथका कृपाले नेपालमा अक्सिजन नै नपाएर कोरानाका बिरामी मरेको समाचार सन्नु परेको छैन । तर, छिमेकी भारतको जस्तै कहालीलाग्दो अवस्था कुनै पनि बेला आउन सक्ने संकेत देखिइसकेको छ । छिमेकीमुलुक भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक चार हजार नाघेको छ जसमध्ये आधाजसो बिरामी अक्सिजन नपाएकै कारण मर्ने गरेको सञ्चार माध्यमले जनाएका छन् । मिडियामा आएअनुसार भारतमा एक सिलिन्डर अक्सिजनको बजार मूल्य ५० हजार भारु पुगेको छ । सक्नेहरूले आपैmँ अक्सिजन किन्न भारत सरकारले आह्वान नै गरेको छ । यसको अर्थ हो धनीहरूले मात्रै उपचार पाउनु । चिकित्सकका अनुसार एक जना बिरामीलाई एक सिलिन्डरले तीन दिन पुग्छ । गम्भीर बिरामीका लागि पाँचदेखि २२ दिनसम्म अक्सिजन दिनुपर्ने हुन्छ । त्यसैले बजारबाट अक्सिजन किनेर आफन्तलाई बचाउन सर्वसाधारण परिवारको आर्थिक अवस्थाले थेग्न सक्ने संभावना नै छैन ।
भारतमा यतिबेला सरकारी स्तरको अक्सिजन पहँचवालाले मात्रै पाउने, र पहुँवालाका लागि जगेडा राखिने भयावह अवस्था एकातिर देखापरेको छ भने अर्कातिर निजी क्षेत्रको अक्सिजन सर्वसाधारणको पहुँचमा छैन । नेपालमा पनि भित्रभित्रै यो अवस्था देखिएको सुनिन थालेको छ । समाचारमा आए अनुसार कर्णाली प्रदेशको सुर्खेतमा यो अवस्था देखिइसकेको छ । कोरोना संक्रमितका आफन्तहरूबीच अक्सिजनका सिलिन्डर पाउन हानथाप हुने गरेको छ । कोरोना संक्रमितहरूको चाप धेरै भएपछि आवश्यकता अनुसारको अक्सिजन आपूर्ति नहुदाँ बिरामीका आफन्तबीच अक्सिजन खोसाखोस हुने गरेको हो वा पहुँच वालाका लागि जगेडा राखिएका कारण यस्तो अवस्था आएको हो ? यसै भन्न सकिने अवस्था छैन । थोरै जनसंख्या रहेको कर्णालीमा दैनिक तीन सय सिलिन्डर अक्सिजन आपूर्ति हुने गरेको छ । दैनिक आपूर्ति हुने सिलिन्डरको संख्या र बिरामीहरूको संख्या तुलना गर्ने हो भने खोसाखोस नहुनुपर्ने हो । कतै भारतको जस्तै कृत्रिम अभाव सिर्जना गरी कालाव्यापारी पोस्ने षड्यन्त्र भएको त होइन ? भन्ने सन्त्रास कर्णालीको घटनाले उत्पन्न गराएको छ ।
कर्णाली प्रदेश त टाढाको कुरा भयो, राजधानी काठमाडौं उपत्याकामै पनि कोरानाका बिरामीले अस्पतालमा बेड नपाएको समाचार आइरहेका छन् । तर, सरकारले सार्वजनिक गरेको साधारण बेड संख्या, आइसियु बेड संख्या, भ्यान्टिलेटर संख्याको अनुपातमा बिरामी भर्ना भएको देखिँदैन । यस्तो अवस्थामा अस्पतालमा बेड नपाउने समस्या किन सिर्जना भयो ? यो प्रश्न सामान्य छैन । उदाहरणका लागि एक साताअघि बिएन्डबी अस्पताल भर्ना भएका कोरानाका एक बिरामीका आफन्तलाई भोलिपल्ट एक रातको भन्दै ५० हजार रुपैयाँको बिल थमाइयो । उनीहरूले यो त अति महँगो भएन र ? भनेर सोध्ने वित्तिकै बिल थमाउनेले जवाफ दियो, ‘महँगो लाग्छ भने अर्को हस्पिटल जानु, एक लाख तिर्ने बिरामी लाइनमा छन् ।’ बिएन्डबीको त उदाहरण मात्रै हो मुलुकका अधिकांश निजी अस्पतालको हालत अहिले यस्तै छ ।
महासंकटका बेला निजी अस्पतालहरूलाई सरकार आफैँले सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था छ । अस्पताल खोल्न दिने संझौता गर्दा नै यस्तो बुँदा राखिएको हुन्छ । महासंकटको मौका पारेर निजी अस्पतालहरूले यसरी बिरामी लुटिरहेको समाचारप्रति सरकार बेखबर हो या सरकारमा रहनेहरूको मिलिभगत हो ? भन्ने प्रश्न उठेको छ । यथाशीघ्र निजी अस्पतालहरूलाई आपैmँले सञ्चालन गर्न सरकार चुक्नु हुन्न ।
यो आलेख तयार गर्दासम्म मुलुकभरी सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको छ । जसमध्ये ९५ प्रतिशत संक्रमितहरू होम आइसोलेसनका नाममा आफ्नै घर तथा डेरामा छन् । पातालो बस्ती भएको गाउँघरमा त आफ्नै घरमा बस्नु ठिकै होला । बाक्लो बस्ती भएको सहरी क्षेत्रमा आफ्नै घर वा डेरामा बस्नु भनेको संक्रणको वृद्धिदरलाई दैनिक दोब्बर बनाउँदै लैजानु हो, जुन दुर्भाग्य अहिले राजधानी काठमाडौंमा भइरहेको छ । केही अपवादलाई छाडेर एउटै घरमा दर्जनाँै मानिस बस्छन् । कतिपय त एउटै कोठा भाडा लिएर सिंगो परिवार पनि बसेका छन् । आफ्नै घर हुनेहरूको पनि अलग भान्छा तथा अलग शौचालयको व्यवस्था छैन । यस्तो अवस्थामा परिवारको एक जना सदस्य संक्रमित भएपछि उसले आफ्नो सिंगो परिवारलाई मात्रै होइन सिंगो घरमा बस्ने सबैलाई कोरोना सार्ने निश्चित छ । त्यसमा पनि अहिले देखापरेको कोरानोको दोस्रो लहर एक व्यक्तिबाट अर्को व्यक्तिमा निकै द्रुत गतिमा सर्नसक्ने प्रक्षेपण विज्ञहरूले गरेका छन् । त्यो देखिएको पनि छ । गत साउन भदौमा परिवारको एक जना सदस्यलाई संक्रमण हुँदा पनि अरू बचेको देखिएको थियो, तर यसपटक परिवारका सदस्य पूरै संक्रमित भएको समाचार आइरहेका छन् ।
संक्रमण देखिएका सबैलाई अस्पताल लैजान संभव पनि छैन । सामान्य लक्षण देखिएकालाई तत्काल अस्पतालको आवश्यक पनि पर्दैन । तर संक्रमितहरूका लागि आइसोेलेसनको प्रबन्ध र उनीहरूको संसर्गमा रहेकाहरूका लागि पिसिआर परीक्षण नभएसम्म व्यवस्थित क्वारेन्टाइनको प्रवन्ध गर्नु जरुरी भइसकेको छ । स्कुल कलेज बन्द भएको र होटलहरूमा पाहुना नभएको वर्तमान अवस्थामा राज्यले इच्छा शक्ति देखाउने हो भने आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न अप्ठेरो छैन । होटल व्यवसायी संघले यो माग गरेको पनि छ । राजधानी काठमाडौंमा मात्रै होटलहरूको बेड संख्या २ लाख ५० हजार भएको जनाउँदै व्यवसायी संघले भनेको छ, ‘न्यूनतम शुल्कमा हामी होटल उपलव्ध गराउन तयार छौँ, हाम्रै होटलहरूलाई आइसोलेसन र क्वारेन्टाइन सेन्टरमा रूपान्तरण गरियोस् ।’ होटलहरूले नपुगे स्कुल कलेजका भवन खाली छन् । पार्टी प्यालेसहरू खाली छन् ।
सरकार यसरी तमासे नबनोस् । भारतको जस्तै भयावह अवस्थाको पर्खाइमा यदि सरकार हो भने केही दिनभित्रै लासको व्यवस्थापनबाहेक अरू कुरामा ध्यान दिनै नसक्ने अवस्था आउनेछ । अझ गम्भीर कुरा के छ भने विधानसभा निर्वाचनका नाममा भारतका राजनीतिक पार्टीहरूले अत्यन्त नघ्न नृत्य प्रस्त्ुत गर्दा पनि नेपाल सरकारले चेतिरहेको छैन । यतिबेला भर्खरै चुनाव सम्पन्न भारतका पाँच वटा राज्यहरूमा असुरिक्षत रूपमा लाखौँका विजय जुलुसहरू निस्किरहेका छन् । यसको अर्थ हो अहिले दैनिक चार लाखको हाराहारीमा रहेको भारतको संक्रमण वृद्धिदर केही दिनमा नै दैनिक १० लाखको हाराहारीमा पुग्छ । यो अवस्थामा खुला सीमा भएको नेपालको स्थिति के होला ? अर्को कुरा हाम्रो मुलुक अत्यावश्यकीय दैनिक उपभोग्य बस्तुमा समेत भारतसँग निर्भर छ । भारतको संकट यही अनुपातमा बढ्दै जाँदा नेपालमा अत्यावश्यकीय दैनिक उपभोग्य बस्तुको आयात ठप्प हुन सक्छ । त्यसपछि हाम्रो मुलुकमा उत्पन्न हुनसक्ने संकट कल्पना गरिएभन्दा पनि भयावह हुन्छ ।
‘विनासकाले विपरित बुद्धि’ भनेझँै नेपाल सरकारले भारतको संकटबाट पाठ सिकेर सावधानीका उपाय अवलम्वन गरेको छैन । अरू कुरा त छाडिदिउँ यस्तो डँडेलो लागेको बेलामा समेत जनगणना २०७८ को पूर्वतयारीलाई निरन्तरता दिँदै सरकारले गणकहरूको तलिमका नाममा भिड जम्मा गरिरहेको छ । सत्ता समीकरण परिर्वतनको खेलमा राजनीतिक दलका नेताहरू जुटिरहेका छन् । राजनीतिकदलका नेताहरूले निषेधाज्ञा पालना नगर्दा जनतामा गलत सन्देश गएको छ । राजनीतिकदलका नेता संक्रमित हुँदा कार्यकर्ता हुँदै सर्वसाधारण जनतामा संक्रमण प्रवाह भइरहेको छ । नेताहरूका लागि त संकट परे उपचारका लागि आइसियुबेड र भ्यान्टिलेटर बुक गरेर राखिएकै छ । तर पहुँचवालाका लागि आइसियु र भ्यान्टिलेटर बुक गरेर राखिएको सन्देश सर्वसाधारण जनतामा गयो भने विद्रोह हुनबाट रोक्ने ताकत कसैको छ ?
प्रतिक्रिया