आफैँ सचेत रहौँ

ललितकुमार यादव

धेरैजसो जनसंख्या आज काम नगरे भोलि के खाने भनेर चिन्ता लिनुपर्ने हाम्रोजस्तो मुलुकको चाहना कुनै पनि हालतमा लकडाउन वा निषेधाज्ञा हुनै सक्दैन । यो निर्णयमा मुलुक पुग्नु मुलुकको बाध्यताबाहेक केही होइन । तर, मुलुकको बागडोर सम्हालेकाहरू र त्यही ठाउँमा पुग्न लागि परेकाहरू कसैले सचेतना र सतर्कता अपनाउन नसकेको प्रष्ट नै छ ।

कोरोना संक्रमण तीव्र दरमा बढ्ने क्रममा रहेको छ । कोरोना संक्रमणको वृद्धिदर नेपालमा पनि भयावह बनेको छ । यो आलेख तयार गर्दासम्म दैनिक करिब ६ हजारको हराहारीमा देखिएको संक्रमण जेठ असारमा दैनिक ११ हजारको हराहारीमा पुग्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ । संक्रमणबाट मृत्यु हुनेको दर पनि निकै तीव्रताका साथ बढेको छ । गत वर्ष कोरोना संक्रमणको पहिलो लहरले इटली, ब्राजिल र अमेरिका लगायतका देशलाई नराम्ररी प्रभावित पारेको थियो । यस वर्ष देखापरेको कोरोना संक्रमणको दोस्रो लहरले छिमेकी मित्रराष्ट्र भारतलाई नराम्ररी प्रभावित गरेको छ । कोरोना संक्रमणले भारत आक्रान्त भएको र भारतमा हाहाकारको अवस्था सिर्जना भएको छ । संक्रमण दरलाई समयमै नियन्त्रण गर्न नसकेमा हाम्रो अवस्था भारतभन्दा पनि खराब हुन सक्नेछ । जनसंख्याको अनुपातमा भारतभन्दा हाम्रोमा कोरोना संक्रमण वृद्धिदर बढी छ । डरलाग्दो तरिकाले संक्रमण दर बढ्ने क्रम रोकिने कुनै संकेत देखिएको छैन । मानव सभ्यता माथिकै संकटको रूपमा देखापरेको कोरोना संक्रमणबाट जनताहरूलाई बचाउन सरकार पूर्ण तयारीका साथ पूर्व तयारी अवस्थामा र जनता स्वयं पनि सतर्क र सचेत रहन अत्यन्त जरुरी छ ।

कोरोना संक्रमणको पहिलो लहरमा रेमडिसिभिर, प्लाजमा थेरापी, अक्सिजन थेरापी लगायतका उपचार पद्धतिले धेरै हदसम्म काम गरेका थिए । अहिले सुरु भएको दोस्रो लहरमा यी उपचार पद्धतीले काम नगरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कोरोना संक्रमणको पहिलो लहरमा बिरामी भएका धेरैजसो ठीक भएका थिए, तर चैत यता सुरु भएको दोस्रो लहरमा गम्भीर लक्षण देखिएका बिरामीलाई बचाउन मुस्किल भइरहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । बिरामीहरू मृत्यु शय्यामा पुग्ने दर बढेको छ । अस्पतालमा बेड पाउनै मुस्किल छ । बेड पाए पनि आइसियु र भेन्टिलेटर पाउनै मुस्किल छ । अक्सिजनको पनि अभाव हुने देखिन्छ । आइसियु र भेन्टिलेटरमा पुग्नेहरूलाई समान्य अवस्थामा फर्काउनै सकिएको छैन । बढ्दो कोरोना संक्रमणलाई हाम्रो स्वास्थ्य पूर्वाधार र प्रणालीले धान्नै नसकिने हो कि ? भन्ने प्रश्नसमेत उठेको छ ।

गत वर्ष दुई जनामा मात्रै कोरोना संक्रमण पुष्टी हुँदा ०७६ चैत ११ बाट देशव्यापी लकडाउन लगाइएको थियो । करिब चार महिना देश बन्दाबन्दीकै अवस्थामा बस्यो । त्यसपछि जिल्लागत जोखिमका आधारमा स्थानीय प्रशासन र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले मातहत क्षेत्रमा सोही अनुसार प्रतिकार्य योजना ल्याएका थिए । गत १ भदौको मन्त्रिपरिषद्को निर्णयबाट महामारी रोकथाम र नियन्त्रणमा जिल्लाको औचित्य र आवश्यकताका आधारमा निर्णय लिन प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गरिएको थियो । गत भदौमा उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । करिब एक महिनाको निषेधाज्ञा पश्चात परिस्थिति केही सहज भएको थियो ।
निषेधाज्ञा हटाउँदा चाडपर्वको समय सुरु भइसकेको थियो । सबैको ध्यान चाडपर्व, आफ्नो व्यापार व्यवसाय सामान्य अवस्थामा फर्काउने र जनजीवन सामान्य बनाउनेमा नै केन्द्रित भयो । मुलुक र नागरिकको आर्थिक गतविधिहरू पुनः चलायमान हुन सुरु हुन लागेको थियो । विश्व कोरोना बिरुद्धको खोप आविष्कार गर्न सफलता हात पारेकोमा खुसी हुँदै थियो । हामी पनि खोप उपलब्ध हुन लागेकोमा खुसी थियौँ र विस्तारै कोरोना र कोरोनाको प्रभावलाई बिर्सिन खोजेका थियौँ । तर खोपको पहिलो डोज केहीले मात्र लगाउन पाएको र दोस्रो डोज लगाउने तयारीमै रहेको बेला कोरोना संक्रमणको दोस्रो लहर सुरु भयो ।

महामारीलाई ज्यादै हल्का रूपमा लिएकै कारण तवाह बनेको छिमेकी मित्रराष्ट्र भारत यतिबेला अन्तर्राष्ट्रिय जगतमा आलोचित हुन पुगेको छ । कोरोना संक्रमणको ख्यालै नगरी भारतका विभिन्न राज्यमा चुनावी सभाहरूको आयोजना भयो । महाकुम्भको मेला पनि आयोजना भयो । अहिले भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्नुमा मुख्य रूपमा यिनै गतिविधिलाई दोषी मानिएको छ । हुन पनि महाकुम्भको मेलामा सहभागी भएर फर्किएका पूर्वराजा र रानी पनि संक्रमित भएर अस्पताल भर्ना भएका छन् । कामना गरौँ उहाँहरूले स्वास्थ्य लाभ गरेको खबर छिट्टै सुन्न पाइयोस् । नेपाल भारतको खुला सिमाना र हाम्रो भारत माथिको निर्भरताको बाध्यताले समेत भारतको प्रभाव हाम्रोमा पर्दै आएको छ । भारतमा देखिएको संक्रमण हाम्रोमा सर्नेमा हामी बेलैमा सचेत हुनुपथ्र्यो । तर, सचेतनाका सबै उपाय हामीले अपनाउन सकेनौँ । सामान्य तरिकाले नै टार्न सकिनेमा अल्मलियौँ ।

पछिल्लो समयमा हाम्रै देशमा पनि राजनीतिक विवादले उच्च उचाइ लियो । दलहरूबीच तीव्र विवाद चर्कियो । आमसभा र विरोधसभाका लागि कसले धेरै मान्छे उतार्ने ? भन्ने प्रतिस्पर्धा नै चल्यो । जुलुस र सभाहरूले कोरोना संक्रमणको जोखिम बढाउन सक्नेमा हामी कोही सचेत भएनौँ । हामी कोरोनालाई बिर्सेर पुरानै जीवनशैलीमा फर्किसकेका थियौँ । सहर बजारमै मास्क लगाउने, भौतिक एवं समाजिक दुरी कायम गर्ने, बेलाबेलामा हात धुने र सुरक्षित रहन अपनाउनुपर्ने उपायहरू अपनाउने लगायतका जनस्वास्थ्यका मापदण्डहरू अपनाउन धेरैजसोले छोडिसकेका थिए । सचेतहरूको बसोवास स्थलहरूको हालत यस्तो थियो भने गाउँघरको अवस्था कस्तो थियो भनेर सजिलै अनुमान लगाउन सकिन्छ । यिनै कारणले पनि हामी कोरोना संक्रमणको दोस्रो लहरको प्रभावमा पर्न गएका छौँ ।

कोरोना संक्रमणको बढ्दो क्रमलाई भंग गर्न भौतिक दुरी कायम गर्नै पर्ने हुन्छ । भौतिक दुरी कायम गर्न लकडाउन गर्ने वा निषेधाज्ञा जारी गर्नु बाहेकको विकल्प हुँदैन र छैन पनि । विश्वभरि अहिलेसम्म यही अभ्यास भएको र गरेको पाइन्छ । लकडाउन वा निषेधाज्ञामा जानु कुनै पनि मुलुकको चाहनाको विषय होइन । कुनै पनि मुलुकको यस्तो चाहना हुनै सक्दैन । धेरैजसो जनसंख्या आज काम नगरे भोलि के खाने भनेर चिन्ता लिनुपर्ने हाम्रो जस्तो मुलुकको चाहना कुनै पनि हालतमा लकडाउन वा निषेधाज्ञा हुनै सक्दैन । यो निर्णयमा मुलुक पुग्नु मुलुकको बाध्यता बाहेक केही होइन । तर, मुलुकको बागडोर सम्हालेकाहरू र त्यही ठाउँमा पुग्न लागि परेकाहरू कसैले सचेतना र सतर्कता अपनाउन नसकेको प्रष्ट नै छ । आमनागरिकले पनि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कमीकमजोरी गरेका नै छन् । सरकारले जनस्वास्थ्यका मापदण्ड तोक्ने र मापदण्डको पालना गर्न विभिन्न माध्यमबाट प्रचार गर्ने गरेको छ, तर आफैँले पालना नगर्दा प्रभावकारी हुन सकेको छैन । त्यस्तै आमनागरिक पनि सरकारले भनेका कुरा मान्नुको सट्टा आफैं जोखिममा पर्न सक्ने व्यवहार गर्न नै व्यस्त छन् । जसले गर्दा जोखिम न्यूनीकरण गर्न कठिनाइ पैदा गर्न सक्छ ।

अहिले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामार्फत कोरोना संक्रमणको चेन ब्रेक गर्ने प्रयास गरिएको छ । प्रयासले सफलता पाउन आमनागरिकको सहयोग अपरिहार्य छ । जनताको सहयोग पाउन सरकारी पक्षले पनि आमनागरिकको समस्या र आवश्यकता को हल गर्न सहजीकरण गर्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको छ । गत वर्ष जस्तो अचानक निषेधाज्ञा जारी भएन । अहिले आमनागरिकलाई गन्तव्यमा फर्किन र आवश्यक तयारी गर्न समय दिइएको थियो । तर, काठमाडौंबाट बाहिरिनेहरू बसमा कोचाकोच गर्न बाध्य भए । सरकार प्रयाप्त गाडीको व्यवस्था गर्न सफल भएन ।

यसपालि अत्यावश्यक कामको लागि छुट दिइएको छ । खाद्य वस्तु खरिद बिक्री गर्ने समय तोकिएको छ । यी सहजताहरू जनताकै लागि दिइएको हो । सहजताको गलत फाइदा कोही कसैले उठाउनु हुँदैन । अत्यावश्यक कामको वहानामा अनावश्यक काममा घर बाहिर ननिस्कौँ । सकभर घरबाटै कामलाई निरन्तरता दिऔँ । घरबाट गर्न सम्भव नभएमा मात्र सरकारले तोकेको काममा मात्रै बाहिर निस्कौँ । घरबाहिर निस्कँदा जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गरौँ । रोगभन्दा पहिले भोकले मर्न सक्ने वर्गलाई सुरक्षित रहन सक्ने गरी कामको व्यवस्था गर्ने कि सुरक्षित रहने गरी मामको व्यवस्था गर्ने जिम्मा सरकारले लिनै पर्छ । सुरक्षित राखेर काममा लगाउन सकेमा मुलुकले पनि कमभन्दा कम आर्थिक क्षति बेहोर्नु मात्रै बेहोर्नु पर्छ । तर, आर्थिक क्षतिबाट जोगिन नागरिकको स्वास्थ्यमाथि कुनै जोखिम पर्ने काम गर्ने र जनतालाई भोकभोकै मर्न दिने काम सरकारले गर्नु हुँदैन ।

निषेधाज्ञा नागरिकको कुनै अरुचिको विषय लागू गर्न होइन, नागरिककै स्वास्थ्य जोगाउन जारी गरिएको हो । अहिले निषेधाज्ञा जारी गरिएको भए पनि यसलाई पूर्ण लकडाउनकै रूपमा नागरिकले लिनुपर्छ । सरकारले सुरक्षाकर्मी लगाएर नागरिकलाई निषेधाज्ञाको पालना गर्न लगाउने अवस्था सिर्जना हुन दिनु हँुदैन । नागरिक आफैंले निषेधाज्ञालाई लकडाउन मानेर पूर्ण पालना गर्नुपर्छ । नागरिकले सरकारलाई र सरकारले नागरिकलाइ आवश्यक सहयोग गर्नै पर्छ । एकअर्काको सहयोगबिना कोरोना विरुद्धको युद्ध जित्न सकिँदैन । नागरिकले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कुनै कसर बाँकी राख्नु हँुदैन । मापदण्डको पालना गर्ने मात्र होइन, सही तरिकाले पालना गर्नुपर्छ । मास्क लगाउने तर नाकमुख नछोपिने गरी लगाउनु हँुदैन । फोहोर मास्क नलगाउने र प्रयोग गरिसकेको मास्क व्यवस्थापन गर्न त्यति नै ध्यान पु¥याउनु पर्छ । हरेक नागरिक आफ्ना स्वास्थ्यप्रति सचेत र सतर्क रहनै पर्छ । स्वयं सचेत रहौँ र सुरक्षित रहौँ । यसको कुनै विकल्प नै छैन । यसले कोरोना संक्रमणबाट मात्र होइन, भविष्य देखिन सकिने र अहिले नै रहेका अन्य संक्रमणबाट समेत जोगाउने नै छ ।

प्रतिक्रिया