राजधानी काठमाडौं उपत्यकामा भोलि (वैशाख १६ गते) बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको सूचना जारी गरिएको छ । भारतसँग सीमानाकाको नजिक रहेका तराईका महत्वपूर्ण सहरहरूमा यसअघि नै निषेधाज्ञा लागू गरिसकिएको छ । राजधानी काठमाडौं उपत्यका र पश्चिम तराईका सहरहरूमा संक्रमणको वृद्धिदर निकै कहालिलाग्दो छ ।
अघिल्लोपटक भारतमा कोरोना संक्रमणले भयावह रूप लिएको करिब एक महिनापछि नेपालले पनि त्यही हविगत बेहोरेको थियो । यतिबेला भारतमा कोराना संक्रमितले उपचार पाउने अवस्था त परै जाओस् कोरानाका कारण मरेकाहरूको शव व्यवस्थापनमा समेत भारत सरकारलाई धौ धौ भएको छ ।
यस्तै लापरबाही जारी रह्यो भने अबको एक महिनाभित्र नेपालमा पनि शव व्यवस्थापन गर्नसमेत धौ धौ हुने स्थिति आउने प्रक्षेपण गरिएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यही अवस्था जारी रहे आगामी जेठ महिनासम्ममा दैनिक संक्रमित वृद्धिदर ११ हजार नाघ्ने प्रक्षेपण गरेका छन् । सरकारले अहिले जारी गरेको निषेधाज्ञा करिबकरिब एक वर्ष अघिको लकडाउनजस्तै हो । फरक के हो भने त्यतिबेला देशव्यापी जारी गरिएको थियो, तर यतिबेला संक्रमणदर उच्च रूपले वृद्धि भएका ठाउँमा मात्रै लागू गरिएको छ ।
बास्तवमा अहिलेको अवस्था भनेको गत साउनदेखि कात्तिकको अवस्थाभन्दा कैयौँ गुणा भयावह हो । सरकारका अनुसार अहिले नै बिरामीले अस्पताल भरिइसकेका छन् । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसियुमा बिरामी सार्ने स्थिति छैन । विगतको जस्तो बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए । कोभिडको अहिलेको लहरमा संक्रमितहरू सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ ।
पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् । थुकको माध्यमबाट अर्कामा सर्ने र मानव शरीरमा करिब १५ दिनसम्म रहने प्रकृतिको भाइरस हो कोरोना । त्यसैले कोराना नियन्त्रणको मुख्य उपाय भनेकै करिब एक महिनासम्म कोही पनि घरबाहिर ननिस्कनु र निस्कनै परे सुरक्षा मापदण्ड अपनाएर एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तिमा दुई मिटर दुरी कायम राख्नु नै हो ।
छिमेकी मित्र राष्ट्र चीनले यही विधि अपनाएर नियन्त्रणमा लिएको हो । तर, विश्वका अन्य मुलुकहरूले सकेनन् । हामीले पनि सकेनौँ । भारतसँगको खुला सिमाना पनि हामीलाई अभिसाप बन्यो । कामको खोजीमा भारत जानुपर्ने वाध्यता त अभिसाप हुँदै हो । महामारीलाई साह्रै हलुका रूपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौँ ।
अब कुनै पनि हालतमा चुक्नु हुन्न । तर स्थिति सहज छैन । सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यका हो । सरकारले निषेधाज्ञाको मिति सार्वजनिक गरेसँगै पहिलेजस्तै यातायातको साधन अभावले हुने त्रासले काठमाडौं उपत्यकाबाट गाउँघरतिर जानेहरूको धुइरो सुरु भएको छ । बसमा कोचाकोच गरेर मानिसहरू बाहिरिएका छन् । सामान्य अवस्थाभन्दा दैनिक दुईगुणा बढी यात्रुबाहक बसले काठमाडौं उपत्यका छाडिरहेका महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
हाल दैनिक ४० हजार यात्रुहरू काठमाडौं ओहोरदोहोर गरिरहेका छन् । लामो दुरीका बसमा समेत सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड नहुँदा यात्रुहरू जोखिम मोलेर घर फर्किन बाध्य छन् । अब बसभित्रै संक्रमित हुन्छन् धेरैजसो । उनीहरूले आफ्नो गाउ“घरसम्म संक्रमण पुर्याउँछन् । निषेधाज्ञा भनेको कोरोनाको जालो तोड्नका लागि र आवश्यक पूर्वतयारीका लागि हो । तर यहाँ तर नेपाल भारतमा त झन् जालो बिस्तार गरिएको छ । यस्तो अवस्थामा जनता आफैँ सचेत बन्नुपर्छ ।
प्रतिक्रिया