पोखरा । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध राखेको अविश्वासको प्रस्तावमा फ्लोर क्रस गर्ने आशंकामा गण्डकी प्रदेशका २६ सांसदलाई रिसोर्ट बुक गरेर राखिएको छ । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई मंहगो पर्ने रिसोर्टमा कोठा नै बुक गरेर सोमबारदेखि राखेका हुन् ।
कांग्रेसका १५ जना र माओवादी केन्द्रका ११ जना सांसदहरू सोमबारदेखि कुटी रिसोर्टमा छन् । कुटी रिसोर्टको वेवसाइटअनुसार एउटा कोठाको न्यूनतम मूल्य १० हजार देखि २० हजारसम्म पर्छ । तर, स्रोतका अनुसार सबैलाई महंगो कोठा नपुगेपछि केहीलाई अलिक सस्तो कोठामा राखिएको छ । उनिहरुको गतिविधिमा निगरानी राखिएको नेताहरुले बताएका छन् ।
लेकसाइडमा रहेको कुटी रिसोर्टमा कांग्रेस र माओवादीले आफ्ना २६ सांसदलाई एक रातको प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म पर्ने कोठा बुक
जनता समाजवादी पार्टीका दुई जना सांसद चाहिँ योसँगै नजिकै रहेको अर्को रिसोर्टमा छन् । तीनै दलका २८ जना सांसदले गत वैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्ध हस्ताक्षर संकलन गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जुन सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा प्रवेश गरिसकेको छ । बुधबार सो प्रस्तावमा मतदान हुने सम्भावना बलियो रहेको छ ।
प्रदेशसभाको बैठकमा सहभागी हुन पनि सबै सांसदहरू एकैपटकमा आउने र जाने व्यवस्था मिलाइएको छ । सोमबार पनि रिसोर्टबाट प्रदेशसभा बैठकमा सहभागी हुन आएका सांसदहरू अन्तिममा स्वाब दिएर कुटी रिसोर्टमा नै फर्किएका छन् । पोखरामा घर हुनेदेखि राजधानी बाहिरका सबै सांसदहरूलाई होटेल नछाड्न भनिएको छ ।
सत्ता ढाल्ने र बचाउने रस्साकस्सीकाबीच कर्णालीको जस्तै ‘फ्लोर क्रस हुन सक्ने’ आशंका समेत गरिएको छ । अहिले गण्डकी सरकारलाई लिएर अनेक अड्कलबाजी भइरहेका छन् । सत्तापक्ष नेकपा एमालेभित्र माधवकुमार नेपाल पक्षका एकजना मात्रै सांसद छन् । तर, उनले ‘फ्लोर क्रस’ गर्दा वा नगर्दा तत्काल देखिएको गठबन्धनमा खासै प्रभाव भने पर्दैन ।
गण्डकीमा अहिले एमालेका २७ जना सांसदविरुद्ध तीन दलका २८ जना सांसद उभिएका छन् । निर्णायक राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जनमोर्चाको यो निर्णय कार्यान्वयन भएको खण्डमा गण्डकी सरकार ढल्ने निश्चित छ । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङेले पनि जसको सरकार बन्छ, उसैलाई समर्थन गर्ने नीति लिएका छन् ।
बाहिर देखिएजस्तै अंक गणित भए गुरुङ नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै देखिएको छ । तर, सत्तारुढ एमाले चाहिँ सकेसम्म अधिवेशन लम्ब्याउनेदेखि लिएर बैठक अवरोध गर्ने रणनीतिमा लागेको छ । गण्डकी प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल सोमबार सक्ने र मंगलबार मतदान गर्ने कार्यसूची थियो । तर, मंगलबारको बैठक सत्तारुढ एमालेले नै पीसीआर माग्दै अवरुद्ध गरेपछि बुधबार पुन अविश्वास प्रस्तावमाथिको छलफल चल्ने भएको छ ।
प्रतिक्रिया