त्रिकोणात्मक टी– २०मा नेपाल फाइनलमा

काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितको लागि १० ओभरमा ९२ रन बनाउनु पर्ने थियो । तर मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भएको थियो ।

कट अफ टाइमको कारण (समय सकिँदा) सुपर ओभर नभएपछि दुबै टोलीले अंक बाँढेपछि नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका हुन् । अन्तिम १ बलमा दुई रन चाहिँएको अवस्थामा मलेसियाले १ रन मात्र बटुलेपछि बराबरी भएको थियो । जितको लागि मलेसियालाई अन्तिम ६ बलमा ७ रन चाहिँएको अवस्थामा भिभियन किंगमाले ६ रन दिदै नेदरल्यान्ड्सको फाइनल यात्रा पक्का गराए । अन्तिम २ बलमा दुई रन चाहिएको अवस्थामा अमिनुद्दीन राम्ली एलबिडब्लू आउट हुन पुगेका थिए ।

जितको लागि १३ ओभरमा १ सय २० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ६ ओभरमा मलेसियाले ५६–० को अवस्थामा वर्षा भएपछि खेल १० ओभरमा झारिएको थियो । मलेसिया ओपनर सैद अजिज २६ बलमा २ चौका र २ छक्का सहित ३० रनमा आउट भए । अनवार अरुद्दीन १७ बलमा २ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए । विरनदीप सिंह १४ रन बनाए । नेदरल्यान्ड्सका सेबस्टियान ब्राटले २ विकेट लिए । बास डी लिड र भिभियन किंगमाले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि डेढ घण्टा खेल रोकिँदा ओभर घटाउँदै १३ मा झारिएको थियो । वर्षापछि १६ बल खेलेको नेदरल्यान्ड्सले १ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । नेदरल्यान्ड्सका बेन कुपर ३२ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहे ।

कप्तान पिटर शिलार ३१ बलमा ५ चौका सहित ३७ रनमा बोल्ड आउट भए । एन्टोनियस स्टाल ५ बलमा १ छक्का सहित १० रनमा अविजित रहे । पहिलो ओभरको चौथो बलमै स्पिनर पवनदीपसिंहले ओपनर टोबियस भिसेलाई शून्यमा सायद अजिजबाट क्याच आउट गराएका थिए । मोहम्मद वाफिकले चौथो ओभरको पहिलो बलमा विक्रमजित सिंहलाई एक रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । एक बल पछि नेपाललाई हराउन उत्कृष्ट प्रदर्शन गरेका बास डी लिड शून्यमा स्लिपमा विरानदीप सिंहबाट क्याच आउट भएपछि नेदरल्यान्ड्स २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यसपछि कुपर र शिलारले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मोहम्मद वाफिकले सर्वाधिक २ विकेट लिए । विरानदीप र पवनदीसिंह दाजुदाईले १–१ विकेट लिए । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ । लिग चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्ने छन् । फाइनल वैशाख ११ मा हुने छ ।

प्रतिक्रिया