९० वर्षमा जन्मदर्ता

दैलेख । भगवतीमाई गाउँपालिका–१ की सेतु थापाले ९० बर्षको उमेरमा जन्मदर्ता पाएकी छन् । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय तहलाई १ देखि १६ वैशाखसम्म व्यक्तिगत घटना दर्ता सञ्चालनको निर्देशन दिए पनि दैलेखका केही स्थानीय तहहरूले अभियान सञ्चालन गर्न सकिरहेका छैनन् ।

केन्द्रको निर्देशनलाई पालना गर्दै भगवतीमाई गाउँपालिकाले सुरु गरेको अभियानमा उनले जन्मदर्ता गराएकी हुन् । केन्द्रको दिर्देशनअनुसार १ वैशाखबाटै शिविर सञ्चालन गर्नुपर्ने भए पनि जनशक्ती अभावले ४ वैशाखबाट शिविर शुभारम्भ भएको भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिएका छन् ।

९० वर्षसम्म जन्मदर्ता नगराएकी थापाले यसपटक नेपाल सरकारले सञ्चालन सिविरमा उनले जन्मदर्ता बनाएको स्थानीय पञ्जीकरण विभागअन्तर्गत भगवतीमाई गाउँपालिका सेवा इकाइका फिल्ड सहायक नविन दाहालले बताए । भगवतीमाई गाउँपालिकाले ४ वैशाखमा वडा–१ बाट अभियानको सुरु गरेको छ ।

४ गतेबाट सुरु भएको शिविर गाउँपालिकाका सात वटै वडामा सञ्चालन भएर २२ वैशाखमा सम्मन्न हुने गरी प्रत्येक वडामा दुई दिनको समय दिएको जानकारी गाउँपालिकाले दिएको छ । उक्त शिविरमा वडा–१ मा मात्र ५ सय ७४ जन्मदर्ताको लागि सूचना संकलन भएको छ । ४ र ५ गते वडा–१ को नेपाल राष्ट्रि«य प्राथमिक विद्यालय कुम्री र स्वास्थ्यचौकी पगनाथमा सञ्चालन शिविरमा ५ सय ७५ जन्मदर्ताको सूचना संकलन भएको हो ।

‘कोही नछुटौँ, कोही नदोहोरिऔँ’ भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रिय अभियानमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविरमा जन्मदर्ता ५ सय ७४, मृत्युदर्ता ४३, विवाहदर्ता १ सय ३३ र सम्वन्धविच्छेद एक गरी जम्मा ७ सय ५१ घटना दर्ताका लागि सूचना संकलन गरिएको गाउँपालिका सूचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया