सत्ता समीकरणबारे सभापति देउवा, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं । सत्ता समीकरणको विषयमा आज प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा उक्त भेटवार्ता भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालेर कांग्रेस माओवादी केन्द्र र जसपाको गठबन्धनको सरकार बनाउने यतिबेले देशभर चर्चा चलिरहेको छ ।

गत शुक्रबार सभापति देउवाले तीन दलको संयुक्त बैठक आफ्नै निवासमा बोलाएका थिए । तीन दलको संयुक्त सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्रले सहमति जनाए पनि जसपाले भने अझै सहमति जनाएको छैन । गठबन्धनको सरकार बनाउने कि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने भन्ने विषयमा जसपामा विवाद छ ।

संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादव ओली सरकार ढाल्ने पक्षमा रहेपनि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारको निरन्तरताको पक्षमा सहमति नजिक रहेका छन् । शुक्रबार कांग्रेस सभापति देउवाले तीन दलको बैठकमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया