उल्टो दिशामा नेपाल सरकार

केही वर्षदेखि राजधानी काठमाडौं उपत्यका यसै पनि विश्वका प्रदूषित सहरहरूको सूचीमा थियो, त्यसमाथि पनि यही चैत महिनाको सुरुदेखि काठमाडौं उपत्यकाको वायुप्रदूषणले खतराको सूची पार गरेको छ । वायुप्रदूषणको खतरालाई मध्यनजर गर्दै सरकारले चैतको तेस्रो साता चार दिनसम्म विद्यालय नै बन्द गरेको थियो भने बुढाबूढी र दीर्घरोगीलाई घरबाहिर ननिस्किन सूचित गरेको थियो ।

वायु प्रदूषणको मात्रा १ सय ५० एक्युआई भन्दा माथि उक्लनासाथ खतरा मानिन्छ तर राजधानी काठमाडौं उपत्यकामा चैतको तेस्रो साता एक्युआई पाँच सयसम्म पुग्यो । मुलुकभरी वनजंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण ह्वात्तै बढेको हो । तर, राजधानी काठमाडौं उपत्यकाको हकमा वनजंगलको ड“डेलो मात्रै कारक होइन, उपत्यकामा चल्ने लाखौ“ सवारी साधनहरू नै वायु प्रदूषणका मुख्य कारक हुन् ।

जंगलको धुवाँको तुलनामा पेट्रोलियम पदार्थबाट चल्ने गाडीले फाल्ने रसायन मानव स्वास्थ्यका लागि कैयौँ गुणा हानिकारक हुन्छ । काठमाडौं उपत्यकाको क्षेत्रफल यसै पनि सानो छ, त्यसमाथि पनि चारैतिर पहाडले घेरेका कारण कचौरा आकारको छ, हावापानी चिसो छ । यस्तो ठाउँको वायुले लाखौँको संख्यामा रहेका पेट्रोलियम सवारी साधनले उत्सर्जन गर्ने खतरनाक रसायन पचाउन सक्दैन ।

प्रदूषणले निम्त्याउने जनस्वास्थ्यको समस्या त छँदै छ । काठमाडौं उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्न नसक्ने हो भने नेपाललाई विश्व जगतले पर्यटकीय मुलुकको सूचीबाट हटाइदिनेछ । यस्तो प्रदूषित ठाउ“मा पर्यटकहरू आउँदैनन् । त्यसैले काठमाडौं उपत्यकाको वायुप्रदूषण जनस्वास्थ्यको दृष्टिले मात्रै होइन आर्थिक दृष्टिले पनि ज्यादै खतराको सूचक हो ।

उपत्यकाको वायुप्रदूषण नियन्त्रणका लागि एक मात्रै उपाय भनेको पेट्रोलियम सवारी साधन विस्थापित गरी विद्युतीय सवारी साधनको प्रोत्साहन नै हो भन्ने तथ्य आजभन्दा ५० वर्षअघि नै उजागर भइसकेको हो । काठमाडौं उपत्यकाको भौगोलिक अवस्था तथा हावापानीलाई मध्यनजर राख्दै छिमेकी मुलुक चीनले आजभन्दा ५० वर्षअघि नै विद्युतीय सवारी साधनको अवधारणामा जान नेपाललाई सल्लाह दिइसकेको हो ।

रूपमा चीन सरकारले काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्ने गरी ट्रलीबस (विद्युत्बाट चल्ने) निर्माण गरिदिएको थियो । यसैलाई नमुना मानेर उपत्यकाका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा नेपालका नीतिनिर्माता यतिसम्म निकम्मा देखिएकी भएको एउटा ट्रली रुटको पनि अहिले नामो निशान छैन ।

पछिल्ला समयमाा ट्रलीभन्दा पनि अझ सहज रूपमा विद्युतीय सवारी साधनहरू निर्माण भइरहेका छन् । विश्वको धेरै मुलुकहरूले पेट्रोलियम सवारी साधनलाई विस्थापित गरी विद्युतीय सवारी साधन प्रयोगमा ल्याइसकेका छन्, तर नेपाल भने उल्टो दिशामा छ । प्रदूषण नियन्त्रणमा प्रभावकारी मानिने विद्युतीय सवारीको आयात घट्दो दरमा छ ।

विद्युतीय सवारीको आयात अघिल्ला वर्षहरूको तुलनामा ओरालो लागेको छ । चालु आवको आठ महिना (फागुनसम्म) मा १ सय ३ वटा मात्र चार पांग्रे विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको यही अवधिमा ५ सय ७५ वटा विद्युतीय चार पांग्रे भित्रिएका थिए । पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको आयात भने उच्च छ ।

चालु आवको पहिलो ७ महिनामा ९ हजार ५ सयभन्दा बढी पेट्रोलियम गाडी आयात भएका छन् । गत आर्थिक वर्षभरिमा करिब ९ हजार १ सय वटा मात्रै यस्ता गाडी आयात भएका थिए । वातावरण प्रदूषण नियन्त्रणको मुद्दा त छँदै छ, आर्थिक मुद्दा अझ पेचिलो छ । किनकी शतप्रतिशत पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थामा रहेको हाम्रो मुलकसँग आफ्नै जलविद्युत् छ ।

एकातिर स्वदेशी जलविद्युत् खेर गइरहेका कारण कौडीको भाउमा किनिदिनुपर्यो भन्दै भारतलाई गुहारिरहेको अवस्था छ भने अर्कातिर विद्युतीय सवारी साधन आयातमा निरुत्साहन गरिरहेको अवस्था छ । वास्तवमा यो त ठूलो राष्ट्रघात हो । पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युत्को प्रयोगलाई अघि बढाउन आखिर केले छेकिरहेको छ ? यो मामिलामा जनताले हस्तक्षेप गर्नुपर्ने बेला आइसकेको देखिन्छ ।

प्रतिक्रिया