कोरोना : बेलायत भेरियण्ट बढ्दो

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न क्षेत्रमा कडाई गर्न सूचना जारी गरेको छ । पछिल्लो समय देखिएको कोरोना संक्रमितमा बेलायत भेरियण्टको संख्या बढ्दो रहेको छ । बुधबारमात्रै २९८ संक्रमित भेटिएका थिए । यो विस्तारै उकालो लाग्दैछ । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहेको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठुला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरुमा संक्रमणको उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विद्यालय जाने उमेरका बालबालिकाहरुमा समेत कोभिड–१९ को बेलायत भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो संक्रमण देखिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. कृष्ण पौडेलका अनुसार बालबालिका र ५० वर्षभन्दा कम उमेरका मानिसहरुमा देखिएको संक्रमण बेलायत भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो पाइएको हो । यद्यपि यसलाई प्रमाणित गर्न गर्नुपर्ने जिन सिक्विनिङ नेपालमा हुँदैन ।

पौडेलका अनुसार पछिल्लो समय भेटिएका केही संक्रमितमा एस जिन देखिएकाले नयाँ भेरियन्ट हुनसक्ने आशंका गरिएको हो । ‘हामीसँग त्यति धेरै ठूलो तथ्यांक त छैन, तर हामीले गरेको स्याम्पलिङमा बालबालिकामा बढी एस जिन देखिएको छ’, डाक्टर पौडेलले भने, ‘बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन शिक्षण संस्थाहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न भनेका हौं ।’ मन्त्रालयले संक्रमित बढ्न थालेपछि रात्रीकालीन व्यवसायमा कडाइ गरेको छ । कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले बुधबार सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई सबै जिल्ला प्रशासन कार्यालयले संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न अनुरोध गरेको छ ।

त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५०० भन्दा बढी र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, धार्मिक स्थलहरुमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् । त्यसैगरी संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।

यसैबीच, सरकारले चीनबाट अनुदानमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणलाई लगाउन शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चिनबाट प्राप्त ८ लाख डोज खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई बुधबार लगाउन शुरु गरिएको हो । मन्त्रालयका अनुसार ८ लाख डोज खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइन शुरु भएको छ ।

खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने मन्त्रालयले जनाएको छ । त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी र व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफूल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने मन्त्रालयले जनाएको छ । यसअघि भारतबाट अनुदानमा ल्याईएको १० लाख डोज खोप तथा विश्व स्वास्थ्य संगठनबाट अनुदानमा प्राप्त खोप नेपाल सरकारले विभिन्न उमेर समुह एवं प्राथमिकतामा परेका व्यक्तीहरुलाई दिईसकेको छ । उनीहरुले पहिलो डोजको खोप पाएपनि दोस्रो डोजको खोप बैशाख दोस्रो सातादेखि लगाउने सरकारको योजना छ ।

प्रतिक्रिया