७३ हजारले खाए हात्तीपाइले रोग विरुद्धको औषधि

धनगढी । कैलालीको धनगढी उपमहानगरपलिकामा ७३ हजारले हात्तीपाइले रोग विरुद्धको औषधि खाएका छन् । उपमहानगरपालिकाका १९ वटा वडाका सो संख्याका व्यक्तीहरूले हात्तीपाइले रोग विरुद्धको औषधि खाएका हुन् । शुक्रबारदेखि सुरु भएको औषधि खुवाउने अभियानमा शुक्रबार ९१ वटा केन्द्रबाट औषधि खुवाइएको र शनिबार घरभेटमा गएर घरमै औषधि खुवाइएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

उपहानगपालिका भित्र औषधि खुवाउनका लागि २ सय १४ महिला स्वास्थ्य स्वयंसेविका र १ सय १३ जना स्वास्थ्यकर्मी परिचालन गरिएको उपाध्यायले जानकारी दिए । उनले भने, ‘उपमहानगरपालिका भित्रका १ लाख ७३ हजार व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको छ । २४ चैतसम्म घरघरमा गएर र ३० गतेसम्म स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका शाखाहरूमा औषधी खुवाइने छ ।’

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्ला मध्ये आठ वटा जिल्लामा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने हुन सकेको छैन । ६ पटक औषधि खुवाउँदा सफल हुनुपर्नेमा आठपटक खुवाउँदा पनि सफल नभएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनले भने, ‘६ पटक खुवाउँदा सफल हुनुपर्ने हो हामीले आठपटक खुवाउँदा सफल भएनौँ र नवौँपटक औषधि खुवाउँदै छौँ । कैलालीमा नवौँपटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै छ ।

जिल्लाभर ८ लाख ५१ हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको कार्यालय प्रमुख धामीले जानकारी दिए । औषधि खुवाउने अभियानमा जिल्लाभर १ हजार २ सय ६१ जना महिला स्वास्थ्य स्वयंसेविका र ६ सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । शिक्षित मानिसले बुझे पनि औषधि नखाइदिँदा रोग निवारण हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘आफूलाई बिरामी छैन किन औषधि खाने भन्ने मानसिकता हुनु र खाँदा विरामी परिन्छ भन्ने भ्रममा परेर औषधि नखाँदा रोग निवारण नभएर नवौँपटक औषधि खुवाउँदै छौँ ।’

औषधि खाँदा समस्या नहुने भएकाले भ्रममा नपरेर सबैले निर्धक्क भएर औषधि खान र खुवाउनमा मद्दत गर्नसमेत उनले सबैमा आग्रह पनि गरे । गर्भवती महिला, दुई वर्ष मुनिका बालबालिका, एकहप्ता नपुगेका सुत्केरी महिला र सिकिस्त बिरामीबाहेक सबैले यो औषधि सेवन गर्न हुने उनले बताए । जिल्लाभरी ३० चैतसम्म औषधि खुवाउने अभियान चलाइने उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनसँगै नेपालले पनि सन् २०३० सम्म औषधि सेवनमार्फत यस रोगको निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया