आर्थिक बृद्धिदर २.९ प्रतिशत रहने प्रक्षेपण

काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा २ दशलमव ९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमशः ४ दशलमव २ र ५ दशलमव २ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ । गत आर्थिक वर्षमा कोभिड–१९ महामारीका कारण नेपाली अर्थतन्त्र १ दशलमव ९९ प्रतिशतले संकुचन भएको थियो ।

विश्व आर्थिक परिदृश्य सार्वजनिक गर्दै आइएमएफले छिमेकी भारतको अर्थतन्त्र सन २०२१ मा १२ दशलमव ५ प्रतिशत र चिनियाँ अर्थतन्त्र ८ दशलमव ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । सन २०२० मा भारतीय अर्थतन्त्र ८ प्रतिशतले संकुचन भएको थियो भने चिनियाँ अर्थतन्त्रको विस्तार सन १९९२ यताकै कम २ दशलमव ३ प्रतिशत मात्र भएको छ ।

आइएमएफले विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशत र २०२२ मा ४ दशलमव ४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । कोभिड–१९ महामारीले सन् २०२० मा विश्व अर्थतन्त्र ३ दशलमव ३ प्रतिशत संकुचन भएको आइएमएफको संशोधित अनुमान छ । सन् २०२० मा आइएमएफका १९० सदस्यमध्ये दुई दर्जनभन्दा कम देशले मात्र धनात्मक आर्थिक वृद्धिदर हासिल गरेको पनि आर्थिक परिदृश्यमा उल्लेख छ ।

प्रतिक्रिया