काठमाडाैं । पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको एमाले (झलनाथ खनाल–माधव नेपाल पक्ष)ले बाग्मती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । मंगलवार काठमाडौंमा भएको खनाल–नेपाल पक्षको भेलाले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय कमिटी गठन गरेको हो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी त्यागेर आएका गृहमन्त्री रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इञ्चार्जको जिम्मा दिएका थिए । खनाल–नेपाल पक्षले यसअघि बाग्मती प्रदेश इञ्चार्ज रहेकी शाक्यलाई नै इञ्चार्ज बनाएको हो । समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले पार्टीलाई जेठ २ गतेकै अवस्थामा फर्काउन आफूहरूले अभियान चलाएको बताए । उनले यो अभियान देशव्यापी बनाउने बताए ।
कमिटीको सह–संयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् । कमिटीमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरिप्रसाद शर्मालगायत छन् । नेपाल पक्षले आइतवार काठमाडौंमा कार्यकर्ता भेला गरी वसन्त मानन्धरको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेको थियो । यसअघि कास्की, तनहुँ, लमजुङलगायतका जिल्लामा खनाल–नेपाल पक्षले समानान्तर कमिटी गठन गरिसकेको छ ।
प्रतिक्रिया