हात्ती चढेर गैंडा गणना

यति बेला नेपालमा एक सिंगे गैडाको गणना सुरु भएको छ । विश्वमा नै दुलर्भ मानिएको उक्त गैडा गणना गर्नु सहज छैन । त्यही असहजतालाई चिर्दै प्राविधिक र सुरक्षा कर्मीको ठूलो संख्या दिनहुँ जंगल चाहार्ने गरेको छ । नेपालमा अहिले एक सिंगे गैँडाको कुल संख्या कति छ भनेर गणना भइरहेको छ । विश्वमा नै दुर्लभ मानिने एक सिंगे गैँडा गणना गर्नु सहज भने छैन । करिब २ सय जना गणक प्राविधिक र सुरक्षाकर्मी बिहान ५ बजे नै खाजा खाएर हात्तीमा चढेर गैँडा गणना गर्न जंगल जान्छन् । उनीहरुको साँझ फर्कने समयको निधो हुँदैन ।

खाजाको पोको र पानी दिइएको हुन्छ टन्टलापुर घाममा गैँडा गणनामा गएकाहरूलाई । घामको ताप र गर्मीले गर्दा खाजा खाने जाँगर पनि चल्दैन गणकहरूले बताउने गरेका छन् । ‘दिन भरी जंगलमा हिडदा थकित भइन्छ र एकै पटक राति आएर खाना गरेकी छु,’ गणक स्मृति लामाले भनिन् । उनीहरुका लागि यो काम समान्य छैन, चुनौतिका बीचमा खटि रहेका छन् उनीहरु ।

गणकहरूले फेला परेको गैँडाको विवरण संकलन गर्दै उक्त गैँडालाई पछि पार्दै अगाडि बढ्छन् । उनीहरूलाई दिइएको फाराममा फेला परेको गैँडाको विवरण भर्दै जान्छन् । यस पटकको गैँडा गणना यस अघिकै विधि र प्रविधिबाट गरिएको गणक तथा पूर्व सहायक वार्डेन वेद खड्काले बताए । पछिल्ला वर्षमा भन्दा यो पटकको गणना व्यवस्थीत हुनेमा उनी विश्वस्त छन् ।

नेपालमा वर्तमान अवस्थामा कति गैँडा छ भन्ने यथार्थ स्थिति पत्ता लगाउन प्रत्येक ५–५ वर्षमा गैँडा गणना गर्ने गरिन्छ तर कोरोना भाइरस महामारीका कारण गत चैतमा गर्ने भनिएको गैँडा गणना यसपटक गरिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालले बताए । यो पटक गणना गर्न एक वर्ष छुटेकाले पनि संख्या बढने अनुमान गरिएको छ ।

गैँडा गणनाको लागि ठूलो जनशक्ति र ठूलो धनराशि खर्च हुने बताइएको छ । धेरै हात्ती परिचालन गर्नु पर्ने भएकोले गैँडा गणना गर्न कठिन हुने उनले बताए । गैँडा गणनाको लागि नेपाल सरकारले ८० लाख रुपैयाँ र विश्व वन्यजन्तु कोष नेपाल र जेडएसएल नेपालको सहयोग गरी १ करोड १० लाख रुपैयाँ छुट्टाइएको छ । ४० वटा हात्तीमा जंगल छिर्ने गणकहरूले गैँडाको विवरण लिनुका साथै गैँडाको वासस्थान घाँसे मैदान र सिमसार क्षेत्रहरूको अवस्थाबारे पनि अनुगमन गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले बताए । त्यही अनुगमनको आधारमा वन मन्त्रालयले गैँडा संरक्षणको रणनीति बनाउने उनले बताए ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना बर्दिया र शुक्लाफाँटामा पनि सुरु गरिएको छ । चैतको अन्त सम्ममा गैँडा गणना सम्पन्न गरेर वैशाखको पहिलो सातामा गणनाको नतिजा सार्वजनिक गरिने चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक दीपक खरालले बताए ।

कुनै गैँडा नछुटुन् कुनै गैँडा नदोहोरिउन् भनेर गणकहरूलाई जीपीएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टम, क्यामरा, दुर्बीन लगायतका उपकरणहरू उपलब्ध गराइएको छ । गैँडा गणना पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र गैँडा पाइने आसपासको वन क्षेत्रमा गरिने छ । सन् १९९४ देखि प्रत्येक ५–५ वर्षमा हुँदै आएको गैँडा गणना यस वर्ष भने कोरोना भाइरसका कारण १ वर्ष ढिलो भएको हो । चितवन राष्ट्रिय निकुञ्जको गैँडा पाइने क्षेत्रलाई १९ वटा ब्लकमा विभाजन गरेर १० स्थानमा क्याम्प स्थापना गरी चैत अन्त सम्ममा सम्पन्न गर्ने योजना रहेको छ ।

गैँडा गणनाको लागि प्रत्येक दिन ४० हात्ती र २ सय जना गणक प्राविधिक र सुरक्षाकर्मीलाई खाजा खाना पानी र बासको व्यवस्थापन गर्ने काम सजिलो नभएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन लोकेन्द्र अधिकारीले बताए । सन् २००० देखि २०१५ सम्मको गणनामा ४ जना महिला गणक सहभागी थिए भने यस पटको गणनामा ७ जना महिला गणक सहभागी भएका छन् । उनीहरु हरेक दिन गुरुष गणकसँगै काममा निस्कन्छन् ।

गैँडा गणना निकै चुनौतीपूर्ण हुने, हात्तीमा चढेर जंगलमा गएर गैँडा गणना गर्न सहज नहुने र कुनै पनि बेला जे पनि हुन सक्ने कौशिला मोक्तानले बत्ताइन् । उनले भन्,ि ‘हात्ती चढेर गैँडा गन्न जंगल पसेपछि फर्केर आइने हो वा होइन भनेर डर लागिरहन्छ ।’ चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्षमा १ सय ६१ वटा गैँडा मरेको तथ्यांक छ । जसमध्ये ६ वटा चोरी शिकारीका कारण मारिएका छन् भने अन्य विभिन्न कारणले मरेका छन् ।

अहिले भइरहेको गणनाले गैँडाको अवस्था वास्तवमा कस्तो छ भन्ने पत्ता लाग्ने अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । तथ्यांकअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ रहेको विभागको तथ्यांकमा उल्लेख छ । यसै गरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको तथ्यांक निकुञ्जसँग छ । पछिल्लो गणनामा कति संख्या पुग्छ अहिले भन्न सकिने अवस्था छैन (बिबिसी)

प्रतिक्रिया