मत-विमत

अन्नको राजा कोदो : लोप हुने खतरामा

सौर्य अनलाइन २०७७ चैत २२ गते ७:०० मा प्रकाशित

बबि बस्नेत

कोदोलाई गरिबको खाना पनि भनिन्छ किनकि यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा पनि गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा खेती गर्न सकिन्छ । कोदोबाट ढिडो रोटी, सातु, लिटो, खोले, पुवालगायत अन्य परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले त झन् यो ज्यादै महत्वपूर्ण बाली हो ।

कोदो नेपालको चौथो मुख्य बाली हो भने पहाडी क्षेत्रको मकै पछिको दोस्रो मुख्य बाली हो । कोदो खाँदाका फाइदा धेरै छन् । खाद्य विज्ञहरूका अनुसार मुटु रोग लाग्न दिँदैन । एन्टिअक्सिडेन्ट गुण हुन्छ । हाड बलियो बनाउँछ । बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ । नराम्रो कोलेस्ट्रोल घटाउँछ । शरीरको विषाक्तता बाहिर निकाल्छ । पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ । रगतको कमी हुन दिँदैन । कब्जियत हुन पाउँदैन । टाइप दुई मधुमेहबाट जोगाउँछ । स्तन क्यान्सर हुन दिँदैन । शारीरिक तौल नियन्त्रित राख्छ । रक्तचाप घटाउन प्रभावकारी हुन्छ । मिर्गाैला र कलेजोको रोग लाग्न दिँदैन । रोगप्रतिरोधी क्षमता बढाउँछ । फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ । ऊर्जाको राम्रो स्रोत हो । पित्त थैलीमा पत्थरी हुन दिँदैन । मीठो निद्रामा सघाउँछ । छाला चम्किलो बनाइराख्छ । घाउ छिटो भरिन सघाउँछ । आमाको दूध बढाउँछ । मोटाहरूका लागि उपयोगी हुन्छ । कुपोषण हुन दिँदैन । सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ ।

कोदो मधुमेह बिरामीको लागि पनि उपयुक्त अन्नबाली हो । पोषणतत्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन चिल्लो पदार्थ, थाइमिन तथा रेशादार बस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ । सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । केटाकेटी बुढाबुढी र सबैका लागि कोदोको रोटी र ढिडो सजिल्लै पच्ने भएकोले यो स्वस्थ्यवर्धक पनि छ । धार्मिक हिसाबले हेर्ने हो भने नेवार, गुरुङ, तामाङ लगायतका जनजातिहरूको पूजाआजा चाडपर्वमा यसको प्रयोग हुन अनिवार्य छ । स्थानीय रूपमा तयार गरिएका शुद्ध जाँड तथा रक्सी धेरै नेपाली तथा विदेशीहरूले मिठो मानेर पिउने गर्छन् । बजारमा पाइने मदिराभन्दा सस्तो र स्वादिलो हुने भएकाले पनि होला मानिहरू कोदोको रक्सी भनेपछि हुरुक्कै हुने गर्दछन् । कतिपयले त साथीभाइ ईष्टमित्रलाई कोसेलीको रूपमा लग्ने गरेको पनि पाइन्छ । आजभोलि त काठमाडांैका तारे होटलदेखि राजमार्गका रेस्टुराँ तथा रिसोर्ट र हिमाली क्षेत्रका होम–स्टेमा दरिलो स्वागतको रूपमा कोदाको विभिन्न परिकार जाँड तथा रक्सीको प्रयोग हुन थालेको छ । यसबाट बियर पनि तयार हुन्छ ।

कोदोलाई गरिबको खाना पनि भनिन्छ किनकि यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा पनि गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा खेती गर्न सकिन्छ । कोदोबाट ढिडो रोटी, सातु, लिटो, खोले, पुवालगायत अन्य परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले त झन् यो ज्यादै महत्वपूर्ण बाली हो । भाते बानीको संस्कृति हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीहरूको भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ । तर, हालका दिनहरूमा यससम्बन्धी जनचेतना अभिवृद्धि, कोदोभन्दा अरू खाद्यान्न महँगो तथा स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकोले यसको महत्व तथा उपयोगिता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ । पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ । अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ । बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुईटा कोदोका रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ । भारतमा कोदोको पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ । कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, केक, शिशुका लागि खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ । यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ । मानिसलाई ज्ञात भएसम्म सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्व दिएको छैन ।

इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआ) हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ । महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ र विषाक्तता हटाउँछ।श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ । म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ । यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुको साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ ।

कोदो एक सुक्खा सहन सक्ने बाली हो र नेपालमा आकाशे पानिको भरमा यसको खेती गरिन्छ । यसको खेती समुन्द्रबाट २ हजार ३ सय मिटर उचाइसम्म खेती गर्न सकिन्छ । नेपाल पहाडी क्षेत्र बढी भएको देश हो । यहाँ धेरै फाँट तथा टारहरू छन् । यी क्षेत्र कोदो खेतीका लागि उपयुक्त क्षेत्र हुन् । यी टारहरूमा राम्रोसँग कोदो खेती गर्न सकेमा प्रशस्त मात्रामा उत्पादन वृद्धि गर्न सकिन्छ । धान गहुँ जस्ता बालीहरू असिञ्चित क्षेत्रमा राम्रोसँग उत्पादन हुन नसक्ने भएकोले त्यस्ता क्षेत्रमा कोदो राम्रोसँग गर्न सकिन्छ । यो कम लागतमा उत्पादन हुन सक्ने भएको हुँदा विपन्न कृषकका लागि यो बाली उपयुक्त छ । खाद्य सुरक्षाको दृष्टिकोणले पनि यो ज्यादै महत्वपूर्ण बाली हो ।

नेपालमा जनसंख्याका हिसाबले पहाडी तथा उच्च पहाडी क्षेत्रहरूमा ब्राहमण, क्षेत्री, गुरुङ, मगर, लामा, शेर्पा, राई, लिम्बु, तामाङ जातिहरूको बाहुल्यता रहेको पाइन्छ । यहाँका मध्य तथा उत्तरी क्षेत्रका मानिसको मुख्य खाना कोदो नै हो र यसले धेरै मानिसको प्राण भर्ने काम गरिरहेको छ । एकातिर उच्च पहाडी क्षेत्रहरूमा बर्सेनि ठूलो धनराशी खर्च गरी चामल ढुवानी भइरहेको छ र जुन सहज र सुलभ रूपमा सबैले प्राप्त हुन कठिन भइरहेको छ । यो दिगो उपाय पनि होइन । तैपनि राज्यको दायित्व त्यी क्षेत्रका जनतालाई स्थानीय तहमा खाद्यान्न उत्पादन वृद्धि गरेर आपूर्ति गर्ने वा बाहिरवाट खाद्यान्न ढुवानी गरी आपूर्ति गर्न प¥यो ।

यसैले दिगो उपायका लागि पहाडी क्षेत्रमा स्थानीय तहमा उत्पादन हुन सक्ने कोदो मकै जौ फापर आदिको उपयुक्त अनुसन्धान र विकास नै हो । यो मध्य कोदो पनि एक महत्वपूर्ण बाली हो जसले यो समस्याको हल गर्न सक्छ । सानैदेखि भात मात्रै खाने परम्पराले आजभोलि कोदोका परिकारहरू नरुचाउनु र रुढिवादी संस्कारको कारण कोदोलाई हेला गर्ने प्रचलन बढेको छ, जुन एकदमै गलत हो । यसमा रहेका खाद्यतत्व र फाइदाजनक पक्षहरूको बारेमा जनचेतना वृद्धि गरि प्रचारप्रसार गर्न र खानेबानिको व्यवहारमा विविधिकरण गरि नयाँ पुस्ता सबै कोदाको परिकारतर्फ आकर्षित हुन सक्दछन् । जसले गर्दा स्थानीय बालिको पनि सदुपयोग र खाद्य असुरक्षासम्बन्धी समस्या पनि समाधान हुन सक्छ ।

त्यस्तै राजमार्ग वरिपरि रहेका विभिन्न होटल तथा रिसोर्टहरूमा स्थानीय खानाको रूपमा कोदोको ढिडो रोटी अर्गानिक तरकारी लोकल कुखुराको मासु तथा कोदाको लोकल रक्सीले बसमा यात्रु तथा पर्यटकलाई स्वागत गर्न सकेमा उपभोक्ताहरू पनि सन्तुष्ट हुने र पर्यटन व्यापार पनि फस्टाउने हुँदा कृषकको आम्दानी वृद्धि हुने तथा रोजगारीको अवसर पनि बढ्नेछ । सरकारको तर्फबाट पनि यसको उत्पादन वृद्धिका लागि कोदो प्रवर्धन कार्यक्रम ल्याउन जरुरी देखिन्छ । त्यस्तै क्षेत्रफलका हिसाबले पकेट ब्लक सञ्चालन समिति बनाएर कृषकलाई सहुलियत दरमा बिउ मल कृषि सामग्री वितरण गर्नसके झनै राम्रो उत्पादन हुन सक्ने र कृषकको आयस्थितिमा समेत टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय