व्यक्तिगत लागतमा मन्दिर र बाटो निर्माण

गोरखा । हामी सानातिना काम गर्नका लागि सरकारको बाटो हेर्छांै । आफ्नै घर अगाडिको बाटो भत्किए पनि सरकारले बनाउनुपर्छ भन्ने मान्यता हामीमा रहेको छ । भत्किएको ठाउँमा खाल्टो पुर्ने साधारण काम पनि हामी गर्दैनौँ । तर, कतिपय यस्ता व्यक्तिहरू पनि छन्, जो व्यक्तिगत लगानीमा सामाजिक हितका काम गर्न पछि पर्दैनन् । भीमसेन थापा गाउँपालिका–४ धावाका युवराज पोखेरललाई एक उदाहरणीय पात्रको रूपमा लिन सकिन्छ । उनले हालसम्म झण्डै १० लाख खर्चेर गाउँलेका लागि मन्दिर निर्माण गरिदिएका छन् । हाल काठमाडौंमा बस्दै आएका उनले उक्त मन्दिरसम्म जाने करिब एक किलोमिटर सडक पनि आफ्नै खर्चमा खनिदिएका छन् ।

‘हाम्रो गाउँमा मन्दिर नहुँदा तिजको व्रत बसेका चेलिबेटीहरू दर्शनका लागि टाढा जानुपर्ने, अन्य चाडपर्वमा पनि पूजा गर्न नपाइने अवस्था थियो,’ उनले भने, ‘गाउँमै एउटा मन्दिर मनाउन पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो । मैले सानैमा वरपीपल सारेर चौतारो पनि लगाएको थिएँ । ०५१ सालमा त्यही चौताराको आडमा एउटा शिवालय निर्माण गरिदिएँ ।’
तत्कालीन समयमा करिब तीन लाख लगानीमा शिवालय र विश्राम पार्टीसमेत निर्माण गरिएको थियो । उनले चौताराको पचिष्टा पनि सोही समयमा गरिदिए । तर, ०७२ सालको विनाशकारी भूकम्पले मन्दिर र पाटीमा क्षतिपुगेपछि पोखरेलकै पहलमा अहिले पुनर्निर्माण गरिएको छ ।

उक्त मन्दिर र बाटो निर्माण भएपछि खेतबारी, धारा तथा आसपासका गाउँ र वडाहरूमा आउजाउ गर्नसमेत सहज भएको स्थानीय बताउँछन् । ‘उहाँले हामी गाउँलेलाई माया गरेर व्यक्तिगत रूपमा यत्रो लगानी गरेर पूण्य काम गर्नु भएको छ । हामी निकै खुसी छौँ,’ स्थानीय खिलनाथ पोखरेलले भने, ‘आउँदा दिनमा पनि उहाँको यस्तै महान् कार्य गर्नु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

प्रतिक्रिया