लक्ष्यभन्दा बढी राजस्व संकलन

धनगढी । कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आवको फागुन मसान्तसम्म लक्ष्यभन्दा १५ प्रतिशतले बढी राजस्व संकलन गरेको हो । चालु आव ०७७/७८ को फागुन मसान्तसम्म ५ अर्व १७ करोडको लक्ष्य रहेकोमा ५ अर्ब ९७ करोड राजस्व संकलन गरिएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको साउन महिनामा ४८ करोड ३२ लाख लक्ष्य रहेकोमा ५७ करोड ७३ लाख, भदौमा ५४ करोड ९७ लाख लक्ष्य रहेकोमा ६१ करोड २५ लाख, असोजमा ७६ करोड ६१ लाख लक्ष्य रहेकोमा ८२ करोड ५ लाख र कात्तिकमा ६९ करोड ५४ लाख लक्ष्य रहेकोमा ७५ करोड ७३ लाख राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीले जानकारी दिए ।

त्यसैगरी मंसिर महिनामा ७० करोड ६९ लाख लक्ष्य रहेकोमा ८२ करोड, पुसमा ७० करोड ८२ लाख लक्ष्य रहेकोमा ७६ करोड ८४ लाख, माघमा ६३ करोड ७३ लाख लक्ष्य रहेकोमा ७८ करोड १५ लाख र फागुनमा ६२ करोड ९६ लाख लक्ष्य रहेकोमा ८३ करोड २५ लाख राजस्व संकलन भएको सूचना अधिकारी जोशीले बताए । फागुन महिनामा चालु आवको सबैभन्दा बढी राजस्व संकलन भएको छ । जुन लक्ष्यभन्दा ३२ प्रतिशतले बढी भएको उनको भनाइ छ । चालु आवको असार मसान्तसम्म ७ अर्ब ८७ करोडको लक्ष्य रहेकोमा फागुन मसान्तसम्म ५ अर्ब ९७ करोड राजस्व संकलन भइसकेको छ । गत वर्षको तुलनामा यस वर्ष राजस्व बृद्धि भएको छ ।

गत आव ०७६÷७७ को फागुन मसान्तसम्म ४ अर्ब ५० करोड लक्ष्य रहेकोमा ३ अर्ब ४३ करोड लक्ष्यभन्दा कम राजस्व संकलन भएको थियो भने असार मसान्तसम्म ६ अर्ब ७० करोड लक्ष्य रहेकोमा ४ अर्ब ९२ करोड अर्थात ७३ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।

गत वर्ष कोभिडका कारणले लक्ष्यभन्दा कम राजस्व संकलन भएको जोशीको भनाइ छ । उनले भने, ‘गत वर्ष कोभिडका कारण कम राजस्व संकलन भएको हो आयातमा कमी थियो यस वर्ष आयातमा पनि वृद्धि भएको छ, राजस्व पनि लक्ष्यभन्दा बढी नै संकलन भइरहेको छ ।’

अहिले खाद्यान्न, तेल दलहन आदि आयातमा वृद्धि भएको र चोरी नियन्त्रित भएकोले पनि राजस्व संकलनमा वृद्धि भएको उनको भनाइ छ । चालु आवको सुरुआतदेखि नै लक्ष्यभन्दा बढी राजस्व संकलन भइरहेकोले असार मसान्तसम्मको लक्ष्य पूरा हुने उनको विश्वास छ ।

प्रतिक्रिया