जनगणनाको कार्यक्रम सार्वजनिक

रसुवा । सहभागितामूलक तवरले राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न आज रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ । जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, समूह समग्रमा कति छौँ भन्ने उद्देश्यका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनगणनाको समग्र कार्यतालिका आम नागरिकलाई सूचित गराउन स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकाय, पत्रकारसमेतको सहभागितामा कार्यक्रम सार्वजनिक गरिएको हो ।

जनगणना सम्पन्न गर्न ७८ गणक एवम् २१ सुपरभाइजर परिचालन हुने जिल्ला जनगणना अधिकारी कपिल धितालले जानकारी दिनुभयो । दोहोरोपन हटाउन जुन स्थानमा बसोवास गरेको छ सोही स्थानमा बस्नेको मात्र गणना हुने भएकाले घरघरमा आउने गणकलाई सही रूपको पारिवारिक विवरण दिई राष्ट्रिय जनगणना सफल पार्न समुदायमाझ आग्रह गरिएको बताइन्छ ।

जिल्लास्तरमा गरिएको सचेतना कार्यक्रममा प्रमुख गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जनगणना सफल पार्न आम समुदायको पूर्ण सहयोग मिल्ने र वडास्तरको समितिलाई अग्रसर गराउँदा सही तथ्यांक आउने सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जनगणनाबाट जनसङ्ख्याको अवस्था र लैङ्गिक, ज्येष्ठ, बालबालिका एवम् युवा, घरायसी सेवा सुविधाको अवस्था, शैक्षिक, श्रमशक्ति एवम् अपाङ्गता भएका व्यक्तिसमेतको सही तथ्यांक आउने भएकाले गाउँघरमा पुग्ने गणकलाई सही विवरण उपलब्ध हुनेमा जिल्ला प्रशासन कार्यालय आशावादी भएको बताए ।

प्रतिक्रिया