माल्दिभ्समा शुक्रबारदेखि विद्यालय सञ्चालन हुने

माले । माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कफ्र्यु हटाइएपछि आजदेखि यहाँको बजार तथा शिक्षण संस्थाहरु खुल्ने भएका छन् । गत मार्च ४ तारिखदेखि माल्दिभ्सको राजधानी मालेमा कर्फ्यु लगाइएको थियो । यहाँको स्वास्थ्य सुरक्षा निकायले कोभिड १९ को संक्रमण बढेको भन्दै मालेमा कर्फ्यु आदेशको घोषणा गरेको थियो ।

राजधानी सहरमा लगाइएको कफ्र्यु गए रातिदेखि अन्त्य गरिएको यहाँको स्वास्थ्य सुरक्षा निकायले शुक्रबार जानकारी दिएको हो । बिहीबार साँझ प्रकाशन गरेको सूचनामा बिहीबार राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यु हटाइएको जनाइएको छ ।

कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि यहाँ कर्फ्यु लगाइएको थियो । आजदेखि कर्फ्यु हटेपछि यहाँका प्राथमिक विद्यालय, नर्सरीहरु, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पूनः सुचारु हुने भएका पनि बिहीबार साँझ प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।

यहाँको सरकारले अब राजधानी मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ । माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया