कृत्रिम खुट्टाको सहायताले अटोरिक्सा चलाएर जीवनयापन

धनगढी । कैलाली धनगढी उपमहानगरपालिका–३ विशालनगर बस्ने भीमबहादुर विक कृत्रिम खुट्टाको सहायताले अटो रिक्सा चलाउँछन् । उनले ०७३ सालमा दुर्घटनामा परी खुट्टा गुमाएका छन् । कैलालीको त्रिनगर भन्सार पूलमा भएको यातायात दुर्घटनामा दाहिने खुट्टा गुमाएका हुन् । उनको खुट्टा ट्रकको टायरले किचेको भएर खुट्टा नै काट्नु पर्यो । २६ वर्षको युवा अवस्थामा खुट्टा गुमाएका विकले नेपालमा उपचार सम्भव नभएपछि भारतको दिल्लीमा गएर करिब ५० लाख रुपैयाँ खर्च गरेर उपचार गरेको बताए । ‘ट्रक साहूले दिएको १९ लाख र ३१ लाख आफन्तहरूबाट लिएको ऋणले उपचार गरेँ’, उनले भने, ‘त्यति बेला ऋण लिएको अझैं १६ लाख तिर्न बाँकी छ ।’

दुर्घटनाको दुई वर्षपछि उनको कञ्चनपुरको महेन्द्रनगरमा रहेको एउटा गैह्रसरकारी संस्थाले कृत्रिम खुट्टा हालिदिएको उनले बताए । कमाउनुपर्ने अवस्थामा खुट्टा नै गुमाएपछि उनको परिवारमा ठूलो समस्या नै भयो । घरमा कमाउने पनि उनी नै थिए । ६ जनाको परिवार पाल्नुपर्ने छोरा छोरीलाई पढाउने जिम्मेवारी उनकै काँधमा थियो । उनलाई आर्थिक समस्याले पिरल्यो । ‘सबै परिवार मेरै निर्भरमा थियो मैले खुट्टा गुमाएँ, घर खर्च चलाउनसमेत मुस्किल पर्न थाल्यो, छोराछोरी पढाउनुपर्ने उपचार गर्दा पनि ऋणमा डुबेँ’, केही न केही काम गर्नुप¥यो भनेर फेरी ऋण झिकेर अटोरिक्सा किनेको भन्दै उनले भने, ‘अरू काम गर्न नसक्ने अवस्था थियो अटोरिक्सा त चलाउन सक्छु भन्ने आँट गरेँ । अहिले कृत्रिम खट्टाको सहायताले अटो रिक्सा चलाउँछु ।’

उनले तीन वर्षअगाडि किनेको अटोरिक्साको आम्दानीले घर व्यवहार तथा छोराछोरीलाई पढाउन खर्च जुटाउन थाले । अहिले उनका छोरा धनगढी उपमहानगरपालिका–२ मा रहेको निजी विद्यालयमा युकेजी र छोरी दुई कक्षामा पढ्छन् । अटोरिक्सा किन्दा झिकेको ऋण अहिले अटोरिक्साबाट नै भएको कमाइबाट चुक्ता गरेको बताउँदै उपचारका लागि झिकेको ऋणसमेत तिरिराखेको बताए । जसोतसो घर खर्चसम्म त उनले चलाएका छन । तर, आर्थिक अभावका कारण उनले म्याद समाप्त भइसकेको कृत्रिम खुट्टा भने फेर्ने सकेका छैनन् । उनले भने, ‘खुट्टाको म्याद सकिसक्यो तर पैसा नभएर फेर्न सकेको छैन ।’ अटोरिक्साको कमाइले घरखर्च, छोराछोरीको पढाइलेखाइमै ठिक हुने भएकाले खुट्टा फेर्न नसकेको उनको भनाइ छ । अटोरिक्सा पनि पुरानो भएको र मर्मत गरिराख्नु पर्ने भएकाले अहिले समस्या भएको छ उनले भने पैसा भएको भए नयाँ किन्न हुन्थ्यो नभएर किन्न सकेको छैन ।

उनी भन्छन्, ‘मान्छेले जीवनमा हरेस खानु हुँदैन सकेसम्म मिहिनेत गरेर खानुपर्छ । मैले हरेस खाएको भए कहाँ हुन्थ्यो । आफूले सक्ने काम गर्नुपर्छ, अरूको भरोसामा बाँच्नुभन्दा आफूले गर्न सक्ने काम गर्नु राम्रो हुो ।’ आफूले आँट र साहस गरेकाले समाजमा अपांग भएर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएको उनको भनाइ छ । उनी विदेशमा गएर काम गर्नुभन्दा स्वदेशमै आफूले सक्ने काम गरे राम्रो कमाइ हुन्छ । उनी विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा केही काम गर्न युवाहरूलाई सुझाउँछन् । सरकारले अपांगलाई क्षमता अनुसाको तालिम दिएको भए जीविकोपार्जनमा सहज हुने उनको भनाइ छ । तर सरकारले बेवास्ता गरेको उनको गुनासो छ । उनले भने, ‘हामी जस्तालाई सरकारले व्यवसाय गर्न अनुदान दिएको भए आय आर्जनमा वृद्धि हुन्थ्यो ।’

प्रतिक्रिया