‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने बताउँदै त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको बताएका छन । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेटमा उनले यस्तो बताएका हुन । नेपाल र इजरायलबीचको छ दशक पुरानो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै उनले दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा सहकार्य र साझेदारीमा जोड दिए ।

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै सभामुख सापकोटाले दुई देशका संसद्–संसद्बीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट थप प्रयत्न हुने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत द्विपक्षीय गतिविधिले परिस्थिति सहज हुनेबित्तिकै गति लिने विश्वास व्यक्त गरे । इजरायल–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत गोडेरले भूगोलका हिसाबले दुवै देशका साना भए पनि भाषा, संस्कृति र परम्परामा समृद्ध रहेका तथा आपसी सहकार्यका प्रशस्त सम्भावना रहेका बताए ।

प्रतिक्रिया