प्रेस संगठनको उम्मेदवार सार्वजनिक

इलाम । आगामी २५ चैतमा हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि इलाममा प्रेस संगठन नेपालले पनि उम्मेद्वार सार्वजनिक गरेको छ । प्रेस संगठन प्रदेश–१ का सचिव सुजन तिम्सिनाको नेतृत्वमा सात पदका लागि उम्मेदवार सार्वजनिक गरेको हो । प्रेस संगठनले अध्यक्षमा सुजन तिम्सिना, महिला उपाध्यक्षमा बुद्धमाया सोङ्मी, सहसचिवमा राजेश पराजुलीलाई उम्मेद्वार बनाएको छ । त्यस्तै चार जना खुल्ला सदस्यमा नमिन ढकाल, संगीता थामी, धमप्रसाद जवेगू र लिलाबहादुर लिम्बूलाई उम्मेद्वार बनाएको छ ।

तिमसिना वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । सोङ्मी सदस्य, पराजुली खुल्ला सहसचिव र ढकाल सदस्य छन् । अन्य उम्मेदवारहरू पहिलोपटक निर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । अन्य पदाधिकारी, समावेशी सदस्य तथा केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यमा भने उम्मेद्वार बनाएको छैन । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालले साझा उम्मेद्वार सार्वजनिक गरेको एक दिनपछि प्रेस संगठनले पनि उम्मेद्वार सार्वजनिक गरेको हो ।

प्रेस संगठनले तीन संगठनको साझा उम्मेद्वारविरुद्ध नभई प्रेस युनियनका उम्मेद्वारविरुद्ध मात्र उम्मेद्वार खडा गरेको छ । केन्द्र र प्रदेशमा समेत प्रेस युनियन र प्रेस संगठनबीच चुनावी मोर्चाबन्दी भएको भए पनि जिल्लामा युनियनले नै सर्वसम्मत नेतृत्वका लागि पहलकदमी नगरेकाले उनको विरुद्ध उम्मेद्वारी दिने निर्णय भएको संगठनले जनाएको छ ।

केन्द्रमा र प्रदेशमा प्रेस युनियनको नेतृत्वमा प्रेस संगठनसहितका १२ वडा पेसागत संगठनहरूले साझा प्यानल बनाएर चुनावी मैदानमा छ । उता अर्को प्यानलमा प्रेस चौतारीको नेतृत्वमा प्रेस मञ्चसहितका नौ वटा पेसागत संगठनहरूको साझा उम्मेद्वार छ । इलाममा भने केन्द्र र प्रदेशमा फरक समीकरण बनेको छ । एकातर्फ प्रेस चौतारी, प्रेस युनियन र प्रेस मञ्चको संयुक्त प्यानल बनेको छ भने अर्कोतर्फ प्रेस संगठन मात्र छ ।

प्रतिक्रिया