छायांकन सजिलो काम होइन– रवि

रवि कोइराला, निर्माता निर्देशकका रोजाइका छायांकार हुन् । पछिल्लो समय व्यस्त छायांकारको पहिचान बनाएका उनलाई चलचित्र, म्युजिक भिडियो होस् वा वृत्तचित्र सबैतिर देख्न सकिन्छ । दुई दशकदेखि क्यामेरासँग रमाउँदै आएका उनले यो पेसाबाट नाम, दाम सबैथोक पाएका छन् । साविकको चितवनको शारदानगर–९, चन्द्रनगरमा जन्मिएका उनले ‘हिरासत’, ‘अन्नदाता’, ‘बीच बाटो’, ‘लावारिस’ लगायत दुई दर्जन चलचित्रमा काम गरेका छन् । ‘हिरासत’, ‘अन्नदाता’, ‘बीच बाटो’, ‘लावारिस’ लगायत चलचित्रबाट विभिन्न राष्ट्रिय अवार्डसमेत हात पार्न सफल उनी कोरोना कहरका बेलासमेत व्यस्त रहेका थिए । अहिले बलिउड र हलिउडको चलचित्र खिच्ने सपना रहेको बताउने छायांकार कोइरालासँग गरिएको छोटो कुराकानीः

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
–आफैले काम गरेको चलचित्र ‘वीरबहादुर दंग पर्छ’ रिलिजको तयारीमा छ । अर्काे चलचित्र ‘चुले निम्तो’ सुटिङ तयारी गर्दैछु । त्यसको अलवा ‘तमासा’ चलचित्र, म्युजिक भिडियो लगायतमा व्यस्तै रहेको छु ।

कहिलेदेखि चलचित्रमा काम गरिरहनुभएको छ ?
–करिब १६–१७ वर्ष भयो होला यो क्षेत्रमा रोजेको । जहिलेदेखि यो क्षेत्रमा काम थाले त्यसपछि अन्य पेसाको बारेमा सोच्नुपरेको छैन । यसैमा निरन्तर लागिपरेको छु ।

छायांकन नै किन रोज्नुभयो ?
–म सानैदेखि क्यामेरासँग खेल्न रुचाउँथे । ठुलो भएपछि चलचित्र खिच्नु भन्ने थियो । सानोमा सुटिङ हेर्दा क्यामरा फर्सनले क्रेन, टलीलगायतमा बसेर हिडेको देख्दा मन लोभिथ्यो । रहर लाग्थ्यो । त्यो रहरले क्यामरा सिकें र यसै क्षेत्रमा होमिए । एक, दुई वर्ष गर्दै अहिले १७ वर्ष बितिसक्यो ।

अहिले निकै व्यस्त हुनुहुन्छ । जीवन चलाउन कतिको सहज भइरहेको छ ?
व्यस्त भएपछि आर्थिक रुपमा धेरै मजबुद भइदोरहेछ । यसैबाट सबथोक गर्न पुगेको छ ।

सानोपर्दा, म्युजिक भिडियो, चलचित्र सबैमा भिज्नुभएको छ । काम गर्दा आनन्द के मा हुन्छ ?
–चलचित्र छायांकनमा आनन्द लाग्छ । नियमित सेडुलमा धेरै दिन काम गर्न पाइन्छ । जोखिम पनि यसमा त्यत्तिकै छ । निर्देशकको भिजन दर्शकले रुचाउने गरेर क्यामेरामा कैद गर्नुपर्छ । त्यो गाह्रो काम पनि हो ।

कामबाट यहाँले विभिन्न अवार्ड पनि हात पार्नुभएको छ ?
–हो । त्यो आफूले गरेको मिहिनेतको फल हो । अवार्डले ठुलो हौसला पनि प्रदान गरेको छ । यो क्षेत्र अझै निरन्तर लाग्न, नयाँ नवीनतम काम गर्न ऊर्जा थपेको छ । अहिलेभन्दा पनि अझै राम्रो काम गरेर, देशका मात्र होइन अन्तर्राष्ट्रिय अवार्डसमेत हात पार्ने सोच पनि छ ।

कस्ता चलचित्रमा काम गर्ने इच्छा छ ?
–देशका धेरै राम्रा, जोखिम र चुनौतीपुर्ण मानिएका चलचित्रमा पनि काम गरिसकेँ, गर्दै पनि छु । अब केही बलिउड र हलिउडका चलचित्रमा पनि काम गरेर अनुभव लिन पाए हुन्थ्यो भन्ने छ । भोजपुरी र बलिउडको चलचित्रका लागि कुरा भइरहेको छ, हेरौँ के हुन्छ !

पेसाबाट कतिको खुसी हुनुहुन्छ ?
–आफूले रोजेको क्षेत्रमा निरन्तर काम गर्न पाउँदा, आँटेको, सोचेको पुग्दा एकदमै खुसी छु । यसैबाट घरपरिवार चलेको छ । बैैंक ब्यालेन्स पनि छ । अन्य धेरै काम गर्न सफल भएको छु । यो क्षेत्र छोडेर अर्काे रोज्न सक्दिन ।

निर्देशक पनि बन्ने सोच छ कि ?
–केही चलचित्रको अफर पनि आएको थियो । तर मैले मेरो पेसा नै ठिक छ । निर्देशन अहिले सोचेको पनि छैन इच्छा पनि पनि छैन भने ।

प्रतिक्रिया