चुनौती बन्दै हात्तीपाइले रोग

सुदूरपश्चिम । सभ्रान्त र हुने खाने परिवारका शिक्षित व्यक्तिले नै औषधि खान आनाकानी गर्दा हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको छ । सरकारले हात्तीपाइले रोगविरुद्ध निःशुल्क रूपमा औषधि खुवाउने अभियान थालेको लामो समय भइसके पनि सुदूरपश्चिम प्रदेशको कैलालीसहित देशभरका १२ जिल्लामा यो रोग अझै निवारण हुन नसकेको जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा यो रोग निवारण भइसकेको भए पनि तराईको कैलाली जिल्लामा निवारण हुन नसक्दा जिल्लामा यो रोग एक मुख्य जनस्वास्थ्य समस्याका रूपमा देखिएको बताए । ‘तराईको अर्को जिल्ला कञ्चनपुरमा आठौँपटकसम्म औषधि खुवाउँदा त्यो जिल्ला निवारण उन्मुख छ, पहाडी क्षेत्रका अन्य सात जिल्लामा निवारण भइसक्यो, धामीले भने, ‘औषधि खानुपर्ने जनसंख्याले नखाइदिँदा निवारण गर्न समस्या भइरहेको छ ।’

यो रोगको निवारण हुन नसकेपछि कैलालीमा यही २० देखि ३० चैतसम्म नवौंपटक हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु गरिँदैछ । यसअघि कैलाली जिल्लामा आठपटकसम्म यो रोगविरुद्ध औषधि खुवाइएको थियो । २० चैतबाट सुरु हुने नवौंपटकको अभियानअन्तर्गत जिल्लाका सबै १३ पालिकामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत ८ लाख ५१ हजार जनसंख्यालाई यो रोगविरुद्धको औषधिको चक्की खुवाइँदै छ ।

प्रदेशका पहाडी क्षेत्रका जिल्लामा ६ पटकसम्म यो औषधि खुवाउँदा रोग निवारण भइसकेको जनाइएको छ । संक्रमणबाट बढी प्रभावित जिल्लाका रूपमा देखिएको कैलालीमा कुल जनसंख्याको झण्डै ६ प्रतिशतमा यो रोगको संक्रमण रहेको तथ्यांक छ । कुल जनसंख्याको एक प्रतिशतभन्दा कम संक्रमित फेला परेमा यो रोग निवारण भएको मानिन्छ ।

ग्रामीण क्षेत्रका बासिन्दाले यो औषधि खाने दर सहरी क्षेत्रको तुलनामा बढिरहेको बताइएको छ । दुई वर्ष उमेर माथिका, दीर्घ रोगी, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु कलेजो रोगी, मिर्गौला, छारेरोगीबाहेकका सबैले यो रोगविरुद्धको औषधि खानुपर्ने हुन्छ । अपांगताका प्रमुख दुई कारणमध्ये दोस्रो कारण हात्तीपाइले रोग नै रहेको बताइन्छ । नेपालमा आगामी सन् २०२८ सम्म यो रोग निवारण गरिसक्ने लक्ष्य राखिएको छ । यसअघि नेपालमा सन् २०२० सम्म यो रोगको निवारण गरिसक्ने लक्ष्य राखिएको भए पनि सबै जिल्लामा निवारण हुन नसक्दा अवधि थपिएको हो ।

नेपालका तराईका जिल्लामा यो रोगको बढी समस्या छ । यो रोग लागेमा हातखुट्टा र ग्रन्थी सुनिने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिने लगायतका समस्या भई समयमै उपचार हुन नसकेमा मानिसमा अपांगता हुने गर्दछ । क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट यो रोगको संक्रमण देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा उत्पन्न हुने तीन प्रजातिको परजीविको आयु वर्षौंसम्म रहने र यसैको कारण मानिसमा हात्तीपाइले रोग लाग्ने जनाइएको छ ।

प्रतिक्रिया