ओलीले गरेको कारबाही अस्वीकार गर्छु : माधव नेपाल

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अस्वीकार गर्ने घोषणा गरेका छन् । उनले विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको समेत प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्,’सन्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु ।’

नीति, विधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न उनले अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अत: निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’

प्रतिक्रिया