सरकारलाई दिएको समर्थन अब धेरै दिन रहदैन : दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने प्रस्ट पारेका छन् । राजनीतिक गतिरोधबारे बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै दाहालले प्रतिगामी भनेको सरकारलाई दिएको समर्थन अब धेरै दिन नरहने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले हत्त न पत्त समर्थन नलिन दबाब दिएको भन्दै उनले अब धेरै दिन कुर्न नसक्ने बताए । ‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यो सरकारलाई म अब समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्दछ । केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

उनले अगाडि भने, ‘हिजो प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुको मलाई हत्त न पत्त समर्थन फिर्ता नलि है भनेर जबर्जस्त दबाब म माथि छ । जबर्जस्त नै छ । म नामचाहिँ भन्दिनँ । हत्त न पत्त समर्थन फिर्ता लिइस् भने उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, नैतिक र राजनीतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिनँ ।’ अध्यक्ष दाहालले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको प्रस्ट्याए ।

प्रतिक्रिया