बंगलादेशमाथि न्युजिल्यान्डको क्लिनस्विप

ढाका । न्युजिल्यान्डले बंगलादेशविरुद्ध तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्डले क्लिनस्विप गरेको हो । जितको लागि ३ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.४ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । बंगलादेशका मध्यक्रमका ब्याट्सम्यान महमुदूल्लाहले ७३ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७६ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन । लिटन दास र मुश्फिकुर रहिम २१–२१ रनमा आउट भए । न्युजिल्यान्डका तीव्र गतिको बलिङ आक्रामण सामू बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा २ मेडन सहित २७ रन खर्चेर ४ विकेट लिए । अर्का मध्य गतिका बलर जेम्श निसमले ७.४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर ५ विकेट लिए । काईल जामिसनको नाममा १ विकेट रह्यो ।

त्यसअघि वेलिंग्टनमा जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १८ रन बनाएको थियो । न्युजिल्यान्डका देभन कन्वेले १ सय १० बलमा १७ चौका सहित १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । डर्याल मिचेल ९२ बलमा ९ चौका र २ छक्का सहित १ सय रनमा अविजित रहे । यी दुबै ब्याट्सम्यानको ओडिआई करिअरमा पहिलो शतक प्रहार गरेका हुन् । कन्वेले ४३ औं ओभरको पाँचौं बलमा तस्किन अहमदलाई चौका प्रहार गर्दै ९५ बलमा करिअरको पहिलो ओडिआई शतक प्रहार गरेका थिए । मिचेलले इनिङको अन्तिम बलमा दुई रन बटुल्दै शतक पूरा गरेका थिए ।

पाँचौं विकेटका लागि कन्वे र मिचेलले १ सय ४७ बलमा १ सय ५९ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । ओपनर माटिन गुप्टिल २६, हेनरी निकोल्स र कप्तान टम लाथम १८–१८ रनमा आउट भए । बंगलादेशका रुबेल होसेनले सर्वाधिक ३ विकेट लिए । सौम्य सरकार, तस्किन अहमद र मुस्ताफिजुर रहमानले १–१ विकेट लिए । ‘प्लेयर अफ द म्याच र सिरिज’ दुबै देभन कन्वे चुनिएका छन् । पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । बंगलादेश र न्युजिल्यान्डबीच थप तीन टि२० आई सिरिज हुने छ । पहिलो खेल आइतबार हुने छ ।

प्रतिक्रिया