आइतबारदेखि काठमाडौंका घरघरको धारोमा मेलम्चीको पानी वितरण हुने

काठमाडौं । यही आइतबारदेखि मेलम्चीको खानेपानी काठमाडौंका घरको धारामा वितरण हुने भएको छ । मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले आगामी आइतबारदेखि दैनिक चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको बताए ।

पानी वितरण तयारीको काम सम्पन्न भइसकेको उनको भनाइ छ । ‘आइतबारबाट मेलम्चीको पानी धारामा पुरानै पाइपबाट पठाउँदै छौँ,’ उनले भने । पहिलो चरणमा काठमाडौं जिल्लामा मात्रै पानी पठाइने प्रजापतिले जानकार िदिए ।

‘अहिलेलाई काठमाडौंमा मात्रै पानी पठाउँछौं,’उनले भने, ‘यो एउटा परिक्षण पनि गर्न लागिएकाले विस्तारै भक्तपुर, ललितपुर जिल्लावासीको धारामा पनि पानी पठाउँछौं।’ उनका अनुसार आइतबारदेखि पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने छ ।

पाँच सात दिनसम्म साढे ६ करोड पानी वितरण गरिने छ। ‘पछि कति पानी वितरण गर्दै जाने हो छलफल गरेर वितरण गर्दै जान्छौं,’ प्रजापतिले भने। उनका अनुसार पानी वितरणका लागि १० वटा पानी रिजर्भ ट्यांकी बनाउनुपर्नेमा ९ वटा निर्माण सकिएको छ। बाँकी एउटा ट्यांकीको काम पनि अन्तिम चरणमा पुगेको छ।

उपनिर्देशक प्रजापतिले उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग भएको बताए । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। यही पानीले उपत्यका बासीको ४० प्रतिशत माग मात्रै धान्ने उनले जानकारी दिए।

उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का प्रवक्ता प्रकाश कुमार राईले मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने जानकारी दिए ।

प्रतिक्रिया