भारतबाट आएकामा कोरोना संक्रमण

कञ्चनपुर । भीमदत्त नगरपालिका–१० का एक युवतीमा विहिवार बिहान गडडचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गडडचौकीले जनाएको छ ।

पुर्वी गौरीफन्टा नाकामा विहिवार बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा संक्रमण देखिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका यहाँको पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले कैलालीको टीकापुरका दुई र डोटीका दुई जनामा संक्रमण देखिएको बताए । ‘यस नाकाबाट दैनिक ५०० देखि ७०० सम्म नेपाली भारतबाट फर्किरहेका छन्’, उनले भने,‘सीमामा परीक्षण गर्दा हरेक दिनजसो कोरोना पोजेटिभ देखिएको छ ।’

उनले बुधबार सोही नाकामा परीक्षण गर्दा आठ र मंगलबार पाँच जनामा कोरोना देखिएको बताए । ‘एक साताको विवरण हेर्दा २० जनामा संक्रमण देखिएको छ’, उनले भने, ‘भारतमा संक्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा यहाँ संक्रमण देखिन थालेको छ ।’ गडडचौकी प्रहरीका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरमा कोरोनाको संक्रमण बढिरहेसँगै मजदुरीका लागि भारत गएकाहरु सिमानाबाट फर्किने क्रम बढेको छ । ‘दैनिक चारदेखि पाँच सय नेपाली गडडचौकी नाकाबाट घर फर्किरहेका छन् ।’ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘सीमामा स्थानीय प्रशासनले भारतको संक्रमित क्षेत्रबाट आइरहेकाहरूको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ ।’

कोरोना कहरको अवस्था सामान्य बन्दै गएका बेला भारत जाने क्रम यहाँबाट शुरु भए पनि भारतमा संक्रमण बढ्दा फर्किनेको चाप बढ्न थालेको हो । त्यसैगरी कञ्चनपुर प्रशासनले पनि यहाँ कोरोना संक्रमण बढ्न नदिन स्वास्थ्य सतर्कता कायम गर्न अनुरोध गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका केही राज्यमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेश जारी गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी विज्ञप्तिमा नजिकिँदै गरेको होलीलगायत कुनै मेला, पर्व र भीडभाड नगर्न भनेको छ । प्रशासनले कोरोना संक्रमण बढ्न नदिन सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुनः फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताए । ‘पूर्वी गौरीफन्टा नाकामा संक्रमण बढी देखिएको छ’, उनले भने, ‘त्यहाँ कैलाली र कञ्चनपुरको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।’ गडडचौकी नाकामा पछिल्लो समय पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले माथिल्लो तहबाट आएको निर्देशनानुसार स्थानीय प्रशासन र पालिकासित समन्वय गरेर अघि बढेको छ । ‘सीमामै हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण भइरहेको छ’, प्रमुख सुनारले भने, ‘पञ्जाव, गुजरात र महाराष्ट्रलगायतका क्षेत्रबाट आइरहेकामा शंकास्पद देखिएको परीक्षण गर्ने गरिएको छ ।’- रासस

प्रतिक्रिया