नेपाल मै मल कारखाना खोलिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गरेका छन् । बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताएका हुन् । किसानले पटक पटक मलका लागि अभाव खेपिरहेका बेला नेपालमा मल कारखाना खोल्न सकिने/नसकिने विषयमा अध्ययन टोली गठन गरिएको थियो । सो टोलीले कारखाना खोल्न सकिने प्रतिवेदन सरकारलाई बुझाएपछि प्रधानमन्त्रीको यस्तो घोषणा बाहिर आएको हो । विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उनले जानकारी दिए ।

कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि बताए । ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युत्बाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । हामी महँगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरीदिन सक्छौं मल कारखानाका लागि’, उनले भने, ‘प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो । कृषि मन्त्रालयले मल उत्पादनतर्फ पनि किसानहरुलाई तालिम दिन जरुरी छ ।’

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको जिकिर पनि गरे । हरेक दिन नयाँ उपलब्धि हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रतिक्रिया