नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा. फहाद अलजुलन्दा अल साइदिबीच उनको कार्यकक्षमा भएको भेटघाटमा सहकार्यको सुरुवात कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ ।

अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत थप सहकार्यका लागि छलफल नियमित गर्ने सहमतिसमेत भएको जनाइएको छ । सो अवसरमा विश्वविद्यालयका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी सहायक उपकुलपति मोना फहाद अल साइदी, अन्तरराष्ट्रिय सहयोग कार्यालयका उपनिर्देश फात्माअल खुजैरी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा पनि सहभागी थिए ।

प्रतिक्रिया