खोजखबर

दुर्गाप्रसादलाई २० मिनेटमै नागरिकता

सौर्य अनलाइन २०७७ चैत १२ गते १२:४८ मा प्रकाशित

काठमाडौं । बिना अपराध भारतीय जेलमा ४० वर्ष बिताएका इलामका दुर्गाप्रसाद तिमल्सिनालाई सरकारले नेपाली नागरिकता दिएको छ। जिल्ला प्रशासन कार्यालय इलामले निवेदन दर्ता भएको २० मिनेटमै दुर्गाप्रसादलाई नेपाली नागरिकता दिएको हो। जिल्ला प्रशासनले जारी गरेको नागरिकता विवरण अनुसार माई नगरपालिका(१० निवासी उनको जन्म मिति २०१७ साउन २ गते कायम भएको छ। उनी १९ वर्षको उमेरमै भारतको कोलकात्तास्थित दमदम सेन्ट्रल जेलमा बिना अपराध थुनिन पुगेका थिए।

इलामस्थित एकजना पत्रकार सटेन्द्र जबेगुका अनुसार अविवाहित उनलाई प्रशासनले निवेदन दिनेबित्तिकै नागरिकता दिएको हो। नागरिकता उपलब्ध गराएर अब भारतीय पक्षसँग लड्न कानुनी बाटो पनि सजिलो भएको छ। उनलाई क्षतिपूर्ति दिन कोलकातास्थित उच्च अदालतले भारत सरकारलाई आदेश दिइसकेको छ।

कोलकाताको कारागारबाट ४० वर्षपछि अघिल्लो शनिबार रिहा भएका दुर्गाप्रसाद तिम्सिना चैत ८ मा घर आइपुगेका थिए। तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका थिए। त्यसपछि त्यहाँबाट उनलाई आमा धनमाया तिमल्सिना भएको माई नगरपालिकास्थित घरमा लगिएको थियो।

कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएपछि दुर्गाप्रसादलाई त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाइएको थियो। अभियोग प्रमाणित नभइ चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका थिए।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय