– नागरिकले स्वास्थ्य मापदण्ड नअपनाए परिस्थिति हेरेर लकडाउनका बारेमा निर्णय हुने : स्वास्थ्य मन्त्रालय
– क्वाइरेन्टाइन र आइसोलेसन तयारी राख्न गृह मन्त्रालयको ७७ वटै जिप्रकालाई निर्देशन
– होली पर्व सामुहिक नभई आ–आफ्नै घरमा खेल्न सरकारको आग्रह
काठमाडौं । भारतमा दोस्रो भेरिएन्टको कोरोना संक्रमण देखिएपछि नेपालको सीमानाकामा सतर्कता र कडाई गर्न शुरु गरिएको छ । भारतसँग खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विस्तारै कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकंलन गरेको छ । नेपाल–भारत सीमामा दैनिक हजारौँको आवत–जावत हुँदै आएकाले संक्रमणको दोस्रो लहर आउन सक्ने मन्त्रालयको अनुमान रहेको छ । पछिल्लो समय होली पर्व मनाउनका लागि भारतबाट फर्कनेहरुको चाप बढेको छ । भारतसँग सीमा जोडिएका जिल्लाका नाकामा सुरक्षा र स्वास्थ्य सतर्कता बढाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रदेश नम्बर–२ का सीमानाकाबाट स्वदेश फर्कनेको ‘ट्राभल हिस्ट्री’ हेर्नेदेखि ज्वरो जाँच र पीसीआर रिपोर्टको समेत जाँच गर्न थालिएको छ । मुख्य नाकाबाहेक अन्य क्षेत्रबाट प्रवेश गर्न सक्ने सम्भावित स्थानमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा समेत भारतबाट स्वदेश फर्कनेको निगरानी राख्न सुरु गरिएको छ । पछिल्लो समय नयाँवर्ष मनाउन स्वदेश फर्कनेको चाप बढेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए । सीमा क्षेत्रमा होल्डिङ सेन्टर राख्ने तयारी भइरहेको समेत उनले बताए ।
गडडचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला राखिएको छ । अत्यावश्यकबाहेकका व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगायतका सेवा बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न आदेश जारी गरिएको छ । कतिपय जिल्लाले रात्रिकालिन निषेधाज्ञा समेत शुरु गरिसकेका छन् । सीमावर्ती जिल्लाले सुरक्षाका मापदण्ड अपनाउन र मास्क अनिवार्य लगाउन अपिल गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले पनि नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए फेरी लकडाउन गर्नुपर्ने बाध्यता आउन सक्ने चेतावनी दिएको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए । ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ’, उनले भने ।
सहप्रवक्ता अधिकारीले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ । काठमाडौ विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत डा. अर्चना श्रेष्ठले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जान सक्ने बताइन् । उनले भनिन्,‘दोस्रो चरणको कोरोना महामारी न्यूनिकरण लागि सबै सर्तक हुनुपर्छ । विशेष गरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउने र शंका लागेमा तुरुन्त जँचाउनुपर्छ ।’
कोभिड–१९ को संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई दिनअघि नै परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए । उनका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ ।
भारतका १८ राज्यमा कोरोनाको नयाँ प्रजाति फैलिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । २४ घन्टामा मात्र कोरोनाको ७७८ वटा नयाँ भेरिएन्ट भेटिएको जनाइएको छ । जसले गर्दा नेपालमा उच्च सतर्कता अपनाउन अपिल गरिदै आएको छ । तर, बजारमा भिडभाड र मास्क नलगाई हिड्नेको संख्या उच्च भेटिएपछि स्वास्थ्य मन्त्रालयले लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने चेतावनी दिएको हो ।
मास्क नलगाए कारवाही
उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने चेतावनी दिएका छन् ।
चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् । भक्तपुरले अर्को सूचना जारी नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रमहरु नगर्न पनि निर्देशन दिएको छ । ललितपुर जिल्ला प्रशासनले चाहिँ राती ११ बजेदेखि रात्रिकालिन व्यवसाय संचालनमा रोक लगाउने निर्णय गरेको छ ।
संक्रमणलाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय पनि उनीहरुले गरेका छन् । सेनिटाइजर, मास्क र सामाजिक दूरीलाई कडाइका साथ पालना गर्ने निर्णय पनि प्रशासनले निर्णय गरेका छन् ।
प्रतिक्रिया