खोजखबर

किसानले आलुको उचित मूल्य पाएनन्

सौर्य अनलाइन २०७७ चैत ११ गते २०:५६ मा प्रकाशित

सर्लाही । उत्तर–पश्चिम क्षेत्रमा सयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । किसानले प्रतिकिलो ७०/८० रुपैयाँमा बिउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गरेका छन् । छिमेकी मुलुक भारतबाट बजारमा सस्तो मूल्यमा आलु भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुले भाउ नपाएको हो । लामो समयदेखि व्यावसायिक रूपमा आलुखेती गर्दै आएको वाग्मती नगरपालिका–७ राजघाटका रामप्रवेश महतोले यसवर्ष दुई बिघा क्षेत्रफलमा आलुखेती गरेका छन् । उनले खेतबाट नै व्यापारीलाई प्रतिकिलो १५ रुपैयाँ आलु बिक्री गरेका छन् । महतोले दुई बिघामा लगाएको आलुबाट गत वर्ष ६ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपरेको उनले बताए । महतोका अनुसार यसवर्ष प्रतिकट्ठा १० हजार रुपैयाँसम्म खर्च भएको छ ।

त्यस्तै, बरहथवा नगरपालिका–२ हजरियाका किसान चन्द्रप्रसाद वाग्लेले यसवर्ष आलु खेतीबाट लागत उठाउनसमेत मुस्किल परेको गुनासो गरे । ‘गत वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गरेका थियौँ’, उनले भने, ‘यो वर्ष १५ रुपैयाँमा बेच्नुप¥यो, लागत र परिश्रम उठेन ।’ आलु लगाउने समयमा कालोबजारीमा युरिया मल प्रतिबोरा १ हजार ४ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म किनेको उनको भनाइ छ । उनका अनुसार भण्डारण स्थलको अभावमा किसानले खेतबाट नै आलु बिक्री गर्न बाध्य भएका छन् । सर्लाहीमा हजरिया, राजघाट, बरहथवा, शंकरपुर लगायतका क्षेत्रमा व्यावसायिक रूपमा आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्रिसिन्दुरे, बिबिरे र कोमल जातको आलुको खेती गरिन्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करिब १ हजार ४ सय हेक्टरमा आलुखेती हुने गरेको छ । यस वर्ष मात्र ३ लाख ५२ हजार २ सय क्विन्टल आलु उत्पादन हुने ज्ञान केन्द्रले जनाएको छ ।

यस क्षेत्रका किसानले मकै लगायतको बालीमासमेत घुसुवा बालीको रूपमा आलु उत्पादन गर्दै आएका छन् । सर्लाहीमा उत्पादित आलु वीरगञ्ज, रौतहटको चन्द्रपुर, बाराको कलैया लगायतको स्थानमा शीत भण्डारणका लागि लैजानुपर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका किसान महेश बरालले गुनासो गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय