कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्‍ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन् । सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउने सहमति भएको थियो । त्यही सहमतिअनुसार बैठक डाकिएको पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए । बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने निर्णय भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद टुंगिएको छैन । क्रियाशील सदस्यता वितरण र नवीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेर यसलाई प्रभावकारी बनाउने रणनीतिअनुसार बैठक बोलाइएको हो ।

कांग्रेसको देशभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान गरिए पनि चार लाख मात्र अद्यावधिक भएको छ। थुप्रै जिल्लाबाट क्रियाशील सदस्यताको प्रतिवेदन आइसकेको छैन । अबको बैठकमा क्रियाशील सदस्यता बुझाउने कार्यतालिका संशोधन गरिने संभावना छ ।

प्रतिक्रिया