सम्पादकीय

क्षयरोगसँग जुध्न जनचेतनाको खाँचो

सौर्य अनलाइन २०७७ चैत ११ गते ७:२१ मा प्रकाशित

यतिबेला कोरोना माहामारी जति भयावह छ, विश्वका लागि यो भन्दा कैयौँ गुणा भयावह थियो, ‘क्षयरोग अर्थात टिबी ।’ क्षयरोगको उत्पत्ति कहिले र कसरी भएको थियो ? भन्ने एकीन नभए पनि यो रोग ज्यादै पुरानो हो । एक व्यक्तिबाट अर्को व्याक्तिमा सजिलै सर्नसक्ने क्षयरोगका कारण युवावस्था कट्न नपाउँदै आधाभन्दा धेरै जनसंख्याको मृत्यु हुन्थ्यो । क्षयरोगले मानव सभ्यतालाई तवाह तवाह बनाएको थियो । कुन किटाणुका कारण कसरी रोग लाग्छ ? र यसको औषधि के हो ? भन्ने सन्दर्भमा मानिसहरूले ठूलो प्रयास गरिरहेका थिए, तर सफलता पाउन सकेका थिएनन् । यस्तै प्रयासको सिलसिलामा डा.रवर्ट कोचले क्षयरोगको कारक व्याक्टेरिया पत्ता लगाए । ‘ट्युबरक्रोसिस्’ नामक व्याक्टेरियाले यस्तो रोग लगाउने गरेको निष्कर्षका साथ रवर्ट कोचले सन् १८८२ मार्च २४ मा औषधिसमेत पत्ता लगाएको घोषणा गरे । उनको घोषणा सही ठहरियो । सदियौंदेखि मानव सभ्यताको शत्रुका रूपमा रहेको क्षयरोगलाई परास्त गर्ने उपाय पत्ता लागेको दिन पारेर संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ्य संगठनले हरेक वर्षको मार्च २४ लाई अन्तर्राष्ट्रिय क्षयरोग उन्मूलन दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय क्षयरोग उन्मूलन दिवस यही चैत ११ गते बुधबार परेको छ । यो दिन मानव सभ्यताका लागि कति महत्वपूर्ण छ ? भन्ने कुरा नयाँ पुस्ताले थाह पाउँदै जानुपर्छ । क्षयरोगको औषधि पत्ता लागेको हु“दैनथ्यो भने यतिबेलासम्म पनि मानव समुदाय करिबकरिब जंगली अवस्थामै हुन्थ्यो । नेपालकै सन्दर्भमा भन्ने हो भने पनि ४० वर्षभन्दा बढी उमेर बा“च्नेहरूको संख्या औंलामा मात्रै गन्न सकिने अवस्था थियो । युवा उमेरमै मृत्युवरण गर्नुपर्ने अवस्था रहुन्जेल मानिसले भौतिक प्रगति गर्न सक्ने संभावना थिएन । आजभन्दा ५० वर्षअघिसम्म नेपालमा क्षयरोगलाई भयंकर त्रासदीका रूपमा लिइन्थ्यो । क्षयरोगले आक्रमण गर्नासाथ उसलाई तथा उसको परिवारलाई आइसोलेसनमा राखेर मृत्यु पर्खने चलन थियो । आज मेडिकल विज्ञानलगायत उपचार पद्धतिको यो उचाइसम्म पुग्दा पनि विश्व जनसंख्याको एकतिहाइ जनसंख्या क्षयरोगको किटाणुको संक्रमण जोखिममा देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिमदर त झन् बढेर ९० प्रतिशतसम्म देखिन्छ । क्षयरोगको खोप आइसकेको वर्तमान अवस्थामा समेत नेपालको ठूलै जनसंख्या क्षयरोगले ग्रसित पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगी नेपालमा थपिने र करिब पाँच देखि सात हजार नेपाली क्षयरोगले बर्सेनि मृत्युवरण गर्छन् ।

वैज्ञानिकहरूले पत्ता लगाएको तथ्यअनुसार प्रायःजसो मानिसको शरीरमा क्षयरोगका किटाणुहरू प्रवेश गरिसकेका हुन्छन् । सन्तुलित भोजन प्राप्त गरिरहेको बलियो शरीरमा क्षयरोग प्रकट हुन पाउँदैन, तर सन्तुलित भोजन प्राप्त गर्न नसकेको कमजोर शरीरमा क्षयरोग सजिलै प्रकट हुन्छ । जति प्रयास गर्दा पनि नेपाललगायत विश्वका गरिब मुलुकहरूमा क्षयरोग उन्मुलन प्रयास असफल हुन नसक्नुको कारण यही हो । सन्तुलित आहार तथा जनचेतनाको कमीकै कारण क्षयरोगले अहिले पनि धेरै मानिसको मृत्यु हुने गरेको छ । सन्तुलित आहार प्रयोग गर्ने, रोगको लक्षण देखा पर्नासाथ चिकित्सक कहा“ पुग्ने र नियमति औषधी सेवन गर्ने हो भने क्षयरोगले ज्यान नै लिने अवस्था भने अब छैन । सरकारले क्षयरोगको औषधि सर्वसुलभ तथा निःशुल्क गरिसकेको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी (डट्स) पद्धतिमा आधारित सेवा केन्द्रहरू खुलेका छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लग्ने नेपाल सरकारले लक्ष्य लिएको छ । यो प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ । यति हुँदाहुँदै पनि क्षयरोगले वार्षिक पाँच÷सात हजार नेपालीको मृत्यु हुनु भनेको जनचेतना र सन्तुलित आहारको कमी नै हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय