राष्ट्रपति भण्डारी बंगलादेश जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने राजकीय भ्रमणको क्रममा बंगलादेशसँग तीन वटा सम्झौतामा हस्ताक्षर हुने भएको छ । भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृति सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रपतिको भ्रमणमा अन्य विविध विषयमा पनि छलफल हुने जानकारी दिए । ‘भ्रमणका क्रममा सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ’, प्रवक्ता गुरुङले भने, ‘रेल्वे, यतायता र बन्दरगाह सुविधालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने र बंगलादेशले नेपालमा विद्युत खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास व्यक्त गरिएको छ ।’

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव र राष्ट्रपति कार्यालयका प्रतिनिधि सहभागि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी ढाकामा आयोजना हुने बंगलादेशका राष्ट्रपति बंगबन्धु शेख मजबुर रहमानको शतवार्षिकी समारोहमा सहभागि हुनेछिन् । उक्त अवसरमा भण्डारीले नेपाल र बंगलादेशको द्धिपक्षीय सम्बन्ध र मित्रताबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी बंगाभवनमा दुई मुलुकका राष्ट्रपतिबीच शिष्टाचार भेट हुनेछ । भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले सावरस्थित शहीद स्मारक र धनमन्डीस्थित बंगबन्धु स्मृति संग्रहालयको अवलोकन गर्ने कार्यक्रमसमेत तय भएको छ । राष्ट्रपतिको भ्रमण टोलीमा सांस्कृतिक टोली पनि सहभागि छ जसले शतवार्षिकी समारोहमा सांस्कृतिक प्रस्तुति दिनेछ ।

राष्ट्रपति भण्डारी ढाकास्थित नेपाली दुतावासमा आयोजना हुने रात्रीभोज पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीको निमन्त्रणमा सोमबार र मंगलबार राजकीय भ्रमणका लागि सोमबार ढाकातर्फ जाँदैछिन् । उनि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत जान लागेकी हुन् ।

निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बंगलादेश प्रस्थान गर्ने उडान तालिका रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुने बताइएको छ । राष्ट्रपति भण्डारी चैत १० गते बंगलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ ।

प्रतिक्रिया