ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : नेता सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको उनको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भएपनि राजनीतिको मूल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

‘सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्शाउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजीनामा दिएर दर्शाउनु पर्नेमा त्यस्तो गर्नुभएको छैन,’ सिंहले भने, ‘माओवादी केन्द्रले समर्थन अहिलेसम्म फिर्ता लिन सकेको छैन । ओलीलाई हटाउन प्रमुख प्रतिपक्षी दल हामी त तयार छौँ । तर संख्या नपुग्दै खाली सरकार परिवर्तनको कुरा गरेर मात्रै हुँदैन ।’

सिंहले थपे- ‘हामी के चाहान्छौँ त भन्दाखेरि न्युनतम रूपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागू हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिस्टहरूको सरकारले ५ वर्षसम्म दिएको म्यान्डेड पूरा गर्न सकेको छैन । र अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरू लागेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाइ छ ।’

नेता सिंहले कम्युनिस्ट पार्टीले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पूरा गर्न नसकेको बताए । देशलाई अस्थिरताबाट बचाउन सबै दलले निकास दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया