हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

हेटौंडा । साविक विजेता मकवानपुर ११ लाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लबले हेटौंडामा सञ्चालन भएको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले मकवानपुरलाई १–० गोलले हराएको पारेको हो । खेलको ३९ औं मिनेटमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । मकवानपुरका गोलरक्षक अशोक बराल अघि बढेको मौका छोप्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । घरेलु दर्शकको साथ पाएको मकवानपुरले खेलमा खासै अवसर सिर्जना गर्न सकेन ।

आर्मीले पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनलाई र मकवानपुरले ए डिभिजन लिग फुटबल च्याम्पियन मछिन्द्र क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता आर्मीले नगद १० लाख रुपैयाँ प्राप्त गर्दा मकवानपुरले भने ५ लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भयो ।

फाइनल खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता आर्मीका कप्तान टेकबहादुर बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा विधागततर्फ पनि विजेता आर्मीकै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, डिफेण्डर आर्मीकै दीपक गुरुङ, मिडफिल्डर आर्मीकै सेसेहाङ आम्देम्बे र उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए । उत्कृष्ट फरवार्ड भने मकवानपुर ११ का रञ्जन बिष्ट भए । उनीहरुले जनही २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता खेलाडी र टोलीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँलगायतले पुरस्कार प्रदान गरेका हुन् । गत फागुन २७ गतेबाट हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा भएको प्रतियोगितामा १० क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापनको क्रममा फुटबलको क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तिहरुलाई नगदसहित सम्मान गरिएको थियो । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट माउन्टेन बाइक साइकलसहित फुटबल संघका पूर्व कोषाध्यक्ष निर्मल बल लामालाई सम्मान गरिएको थियो ।

यस्तै सहायक फिफा रेफ्री शैलेश जोशी, महिला टिमको पूर्व राष्ट्रिय प्रशिक्षक कुमार कटुवाल, महिला फुटबल टिमको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी एवं एन्फा केन्द्रीय सदस्य पेमा लामा, नेपालको पहिलो महिला रेफ्री कल्पना शर्मा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज र पूर्व खेलाडी एवम् प्रशिक्षक भीमबहादुर श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया