पढाइ छोड्दै प्रधानमन्त्रीको छोरी !

मुगु । कर्णाली रारा पर्यटन वर्ष ०७५ को वैशाख १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’ सरह बनाएका मुगुकी ठिल्ले साङमु लामालाई विद्यालय भर्ना गरिदिएसँगै उच्च शिक्षा हासिल गर्ने र राम्रो मान्छे भन्ने सपना आमा छिर्जुमा थियो । तर, अहिले ठिल्लेले बुबाको मायाभन्दा गिल्ला गर्ने पद पाएकी छन् । उनले गिल्ला गर्ने उपमा नाम प्रधानमन्त्रीकी छोेरी भनेर पाएकी छन् । प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेको समय ८ वर्षकी लामा अहिले ११ वर्षकी भइन् । सबैले जिस्काउने गरेको र साथीभाइको हेपाइका कारण प्रधानमन्त्रीले ‘छोरी’ सरह बनाएका ठिल्ले लामा आर्थिक अभावसँगै तनावका कारण विद्यालय भर्ना भए पनि विद्यालय जानै छाडेकी छन् ।

तीन वर्षअघि अभिभावकत्व ग्रहण गरेका प्रधानमन्त्री ओलीले ठिल्लेको विद्यालय भर्ना गर्नुका साथै माध्यमिक स्तरसम्म पठाउने प्रतिवद्धता जनाएसँगै आमा छिर्जु लामा पठनपाठनमा राहत हुने भन्दै खुसी भएकी थिइन् । आपूm एकल महिला भए पनि छोरीको पठनपाठनका लागि छोरीले प्रधानमन्त्रीलाई बाबा पाएकी भन्दै फुरुंग भएकी आमा छिर्जुमा अहिले आशा निराशामा परिणत भएको छ । तर मिडियाका अगाडि प्रतिवद्धता जनाएका प्रधानमन्त्रीले खासै चासो दिएका छैनन ।

परिवारलाई जम्मा दुईपटक गरेर २० हजार नगद र केही लत्ताकपडा पठाएको पाएको ठिल्लेकी आमाले बताइन् । तर, खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी छन् । उपमा प्रधानमन्त्रीकी छोरी, घरमा खाना छैन ,स्कुल जाउँ हातमा कापी कलम छैन । सबैले प्रधानमन्त्री छोरी भन्दै गिल्ला गर्ने । अप्ठारो परेको बेला छोरीले बाबालाई सम्झने, बाबा भने वास्ता नगर्ने भएपछि प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेर छोरी मान्नुको अर्थ के ? नागरिक अगुवाको भनाइ यही छ ।

प्रधानमन्त्रीकी छोरीको उपमा नपाएकी भए सायद उनी खुसी हुन्थिन् होला । तर, अहिले उनलाई त्यो उपमा घाँडो भएको छ । घरको आर्थिक अभाव र तनावका कारण निकै तीक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुंगिने चिन्तासमेत बढ्दै गएको छ । लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । उनको दिमाग तीक्ष्ण भएता पनि पठनपाठनमा आवश्यकता पर्ने स्टेसनरीका सामान कापी, कलम, नहँुदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।

यता बुद्ध माध्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुईपटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाट समेत नभएको बुझिएको बताए । ठिल्ले लामालगायत अन्य मुगु जिल्लाका बालबालिकालाई प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्य लगायतका अन्य मन्त्रीले अभिभावकत्व ग्रहण गरेका थिए बाँकी उनीहरूको बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ ।

प्रतिक्रिया