म पनि प्रधानमन्त्रीको दावेदार

रेणु यादव

बजारमा एउटा कफी हल्ला छ कि हामीले ओलीलाई प्रधानमन्त्रीमा टिकाउँदै छौँ, कहिले प्रचण्डलाई बनाउँदैछौँ भनेर । कफी खाएर हल्ला फैलाइएको छ । के सधैँ हामीले अरूलाई नै प्रधानमन्त्री बनाउने हो ? हामी आफैँ प्रधानमन्त्री बन्न सक्दैनौँ र ? देशलाई यो संकटबाट निकास दिनका लागि जसपालाई नै सरकारको नेतृत्व दिन सकिन्न र ? जहिले पनि यो तराजुमा र त्यो तराजुमा गरी खाली नापतौल मात्र गर्ने ?

राजनीतिक संकटबाट देशलाई निकास दिनका लागि जनता समाजवादी पार्टी (जसपा) अहिले गृहकार्य गर्दैछ । जसरी नेकपामा टुटफुट, विभाजनदेखि गालीगलौजसम्मको घटना देखियो त्यसलाई हेर्दा जसपाले मात्र प्रयासले निकास निस्किँदैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ जीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा छ । नेकपा एमाले नै अहिले फेरि विभाजन हुने अवस्था पनि देखिएको छ । ओलीजी अहिले फेरि दमनकारीरूपमा उत्रिनुभएको छ । ‘म फेरि पनि प्रतिनिधिसभा विघटन गरिदिन्छु’ भनेर धम्की दिन थाल्नुभएको छ । अहिलेको परिस्थितिमा हामीले ओलीजीलाई मात्र मतदान गर्ने वा अन्य राजनीतिक दललाई समर्थन गर्नेभन्दा पनि हाम्रो विगतदेखिको मुद्दा सम्बोधनको विषय नै प्राथमिकतामा छ ।

हाम्रो पार्टीका प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरी जो अहिले जेलमा हुनुहुन्छ उहाँको रिहाइसँगै अन्य नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्तासहित संविधान संशोधनको मुद्दा हाम्रा लागि महत्वपूर्ण छ । यी मुद्दामा हाम्रो माग यदि सरकारले पूरा ग¥यो भने हामी त्यसपछि सहकार्य गर्न तयार छौँ । तर, त्यसका लागि मुद्दा फिर्ता लिन्छौँ, रिहाइ पनि गरिदिन्छौँ, संविधान संशोधन पनि गरिदिन्छौँ भनेर कागजमा दुईबुँदे वा तीनबुँदे सहमति गरेकै आधारमा भने सरकारलाई हामीले समर्थन गर्ने कुरा हुँदैन ।

एउटा व्यक्तिका कारण यदि देश नै संकटमा प¥यो भने त्यसका पछाडि पनि हामी लाग्दैनौँ । त्यसैले हामीले नेपाली कांग्रेस, माओवादी केन्द्रसँग समेत वार्ता र छलफल गर्दैछौँ । त्यति मात्र होइन एमालेमा नै माधवकुमार नेपाल र ओलीजीसँग पनि कुराकानी गरिरहेका छौँ । उहाँहरूले अहिलेसम्म हामीलाई ठग्दै आएको चरित्र यदि सुधार गरेर आउनुभएन भने उहाँहरूलाई समर्थन दिनका लागि मात्र हामीले निकास दिन्छौँ भन्ने कुरा यसपटक हुँदैन ।

बजारमा एउटा कफी हल्ला छ कि हामीले ओलीलाई प्रधानमन्त्रीमा टिकाउँदै छौँ, कहिले प्रचण्डलाई बनाउँदैछौँ भनेर । कफी खाएर हल्ला फैलाइएको छ । के सधैँ हामीले अरूलाई नै प्रधानमन्त्री बनाउने हो ? हामी आफैँ प्रधानमन्त्री बन्न सक्दैनौँ र ? देशलाई यो संकटबाट निकास दिनका लागि जसपालाई नै सरकारको नेतृत्व दिन सकिन्न र ? जहिले पनि यो तराजुमा र त्यो तराजुमा गरी खाली नापतौल मात्र गर्ने ? एकचोटि जसपालाई नेतृत्व दिएर अगाडि बढ्यो भने देशले सबै समस्याबाट निकास मात्र पाउँदैन, देशमा स्थिरता, शान्ति र समृद्धि पनि आउँछ ।

ओलीलाई निषेध गर्ने कारण के छ भने उहाँमाथि विश्वासको संकट छ । विगतमा उहाँले पार्टी फुटाउनका लागि नियमविपरीत जसरी अध्यादेश ल्याउनुभएको थियो त्यसबाट हामी सशंकित छौँ । असंवैधानिक तरिकाले संवैधानिक निकायहरूमा जे नियुक्ति गर्नुभएको छ त्यसले उहाँमाथि विश्वास गर्न सकिन्न । संविधानविपरीत आफ्नो कुर्सी बचाउनका लागि उहाँले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो, त्यसका लागि हामी सबै अन्य दलका नेताहरू सडकमा आएर आन्दोलन गर्नुप¥यो । प्रधानमन्त्री संविधानको दायराभित्र बस्न सक्नुहुन्न भन्ने कुरा यी घटनाहरूबाट समेत पुष्टि भइसकेको अवस्थामा फेरि पनि उहाँले देशलाई दुर्घटनामा पार्नुहुन्न भन्ने कुराको के ग्यारेन्टी छ ? त्यसकारण हाम्रो पार्टीले उहाँमाथि विश्वास गर्न सकेको छैन । अर्को कुरा सरकारसँग संवाद गरिरहेको जे कुरा छ त्यो राज्यसँग गरेको हो । राज्यको काम हो मुद्दा फिर्ता आदि गर्ने । राज्यको दायित्व हो त्यो सबै कुरा गर्नुपर्ने । अहिले सरकारमा ओलीजी नै हुनुहुन्छ ।

प्रचण्डजी वा देउवाजीको कुरा गर्ने हो भने उहाँ दुवै जना प्रधानमन्त्री भएको बेलामा संविधान संशोधन गर्न दुईतिहाई बहुमत त थिएन उहाँहरूलाई । तर, ओलीजीको सरकार त दुईतिहाइ थियो नि । तैपनि उहाँले गर्नुभएन । व्यक्तिको राजनीति हाबी नहोस्, हामीले प्रचण्डजी वा देउवाजीमाथि विश्वास गर्छौं भन्ने कुरा छैन । त्यसैले त अब हामी आपैmँ सरकारको नेतृत्व गर्नुपर्छ भनेर भनिरहेका छौँ । हाम्रो माग दाबी पनि हो ।

जसपा आफैंले सरकारको नेतृत्व ग¥यो भने संविधान संशोधन हुन्छ त ? मुद्दा फिर्ता हुन्छ त ? भन्ने प्रश्न हामीलाई धेरै सोधिने गर्छ । हामी सरकारमा गएर हामीलाई दुईतिहाइ समर्थन प्राप्त भयो भने संविधान संशोधन गर्छौं । आफैं सरकारमा नेतृत्व गरेर रेशमजीको मुद्दा फिर्ता लिन्छौँ । आफू सरकारमा बसेर गर्न सकिन्न र ? समर्थन दिने दलको विश्वास लिएर ती सबै काम गर्न सक्छौँ । जसपामा को प्रधानमन्त्री बन्ने त्यो सेकेन्डरी कुरा हो । पहिले त अन्य दलले त्यसका लागि प्रस्ताव गर्नुप¥यो । सबल नेतृत्व दिने क्षमता हाम्रो पार्टीले राख्छ । मिडियाले कहिले महन्थजीको, कहिले उपेन्द्रजीको त कहिले बाबुरामजीको नाम चर्चामा ल्याउने गर्छ । तर, महिलाको नाम कहिल्यै चर्चामा ल्याउँदैन । रेणु यादव पनि त बन्न सक्छ नि ! त्यस्तो अवस्था आयो भने कुन व्यक्ति हुने हो त्यो कुराको निर्णय पार्टीले सर्वसम्मत रूपमा लिन्छ ।

जसपालाई प्रधानमन्त्री दिन कांग्रेस र माओवादी अझै तयार भएको छैन । अहिले वार्ता, संवाद चल्दैछ । केही दिनपछि कुरा आउला । हामीले आफ्नो पार्टीका शीर्ष पाँच नेतालाई जिम्मेवारी दिएका छौँ । उहाँहरूले कुरा गरिरहनुभएको छ । केही न केही निकास त आउँछ नै । हाम्रो अध्यक्ष उपेन्द्र यादवलाई अपमान गरेर ओलीजीले बहिर्गमन गराउनुभएको हो । उहाँले जुन मुद्दाका लागि अटल भएर सरकारमा जानुभएको थियो, त्यो मुद्दा सम्बोधन नहुने भएपछि उहाँ बाहिरिनुभएको थियो, जुन दिन संविधान संशोधन हुँदैन भनेर ओलीजीले भन्नुभयो त्यही दिन उहाँले राजीनामा गरेर बाहिर आउनुभएको थियो । त्यसैले उहाँले प्रतिशोध लिने कुरा होइन ।

सबै कुरा जसपाका हातमा छैन । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले निर्णय गरे भने मात्र हाम्रो भूमिका आवश्यक पर्ने हो । त्यसका लागि हाम्रो पार्टीले होमवर्क गरिरहेको छ । ओली सरकारलाई समर्थन गर्नुपर्ने स्थिति आयो भने पूर्वसमाजवादी पार्टीका समेत केही संसद्को समर्थनमा पूर्व राजपाले ओलीलाई मतदान गर्ने बजार हल्ला चलाइएको छ । तर जसपा फुट्दैन । मलाई अहिलेसम्म के विश्वास छ भने जसपाले जे निर्णय लिन्छ त्यो एकढिक्का भएर लिन्छ । पार्टी फुट्दैन । विगतमा पनि सपा फुट्न लागेको भन्ने हल्ला त थियो तर फुटेन । पूर्व राजपा र पूर्वसपा मिलेर जसपा गठन भएको हो । स्थानीय तहको चुनावदेखि नै एकीकरणको प्रयास दुवै पार्टीमा भएको थियो, त्यसैको परिणाम स्वरूप एकता भएको हो । जसपामा कुनै एक व्यक्ति कतै जान सक्लान् तर पार्टी भने फुट्दैन ।

हामी आपसमा सबै सांसद बसेर कुनै न कुनै सांसदलाई संसदीयदलको नेता बनाउँछौँ तर, एउटा कुरा के बुझ्न सकिएन भने जहिले पनि महन्थ ठाकुर, उपेन्द्र यादव वा राजेन्द्र महतो मात्र दलको नेताका लागि योग्य हो ? महिला हुन सक्दैन ? रेणु यादव हुन सक्दैन ? त्यसमा त मेरो पनि दाबी छ नि । जहिले पनि पुरुष–पुरुष मात्र हुने । यसपटक संसदीय दलको नेतामा हामी महिलाले पनि दाबी गर्छौं । महिलाले अहिलेसम्म प्रधानमन्त्री बन्ने अवसर पाएका छैनन् । पहाडी समुदायका पुरुषले पटकपटक प्रधानमन्त्री चलाइसक्नुभयो । अब जसपाले पाउनुपर्छ । यो देशमा एकपटक मात्र जनजातिको मरिचमान सिंह प्रधानमन्त्री बन्नुभएको थियो । अब महिला तथा मधेसीले पाउनुपर्छ । मलाई पूरा विश्वास छ कि जसपाको प्रधानमन्त्रीले विगतका प्रधानमन्त्रीहरू भन्दा राम्रो तरिकाले देशलाई चलाएर देखाउँछ । (कुराकानीमा आधारित)

प्रतिक्रिया