खनाल–नेपालले संगठनात्मक अभियान चलाउने

काठमाडौं । नेकपा (एमाले) झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले देशभर संगठनात्मक अभियान चलाउने निर्णय गरेको छ । बिहीबार सकिएको राष्ट्रिय भेलाले तलदेखि माथिसम्म संगठनात्मक अभियान चलाउने निर्णय लिएको हो । पार्टी एकतालाई जोगाउनुपर्ने लगायतमा विभिन्न सत्रबुँदे प्रस्ताव पनि बैठकले पारित गरेको छ । उक्त समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले एकता जोगाउनुपर्ने माग गरेको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विधिअनुरुप बैठक बोलाउनसमेत माग गरिएको छ । साथै फागुन २८ गतेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकका निर्णय नसच्याएसम्म बैठकमा भाग नलिने समेत स्पष्ट पारेको छ ।

भेलाले पारित गरिएको प्रस्तावमा भनिएको छ, ‘सर्वोच्च अदालतको पैmसलाअनुरुप नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणपूर्वको पार्टीको संगठनात्मक स्थितिलाई स्वीकार गरी गत फागुन २८ गते सरकारी निवास बालुवाटारमा गरिएका निर्णय रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न यो भेला जोडदार माग गर्दछ ।’

प्रस्तावमा सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको दर्ता खारेज गर्नाका साथै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् स्थितिमा रहने फैसला गरेपछि नेकपा (एमाले) का सबै कमिटी, सम्बद्ध जनसंगठन र पेशागत संगठनलगायत सबै संरचना उक्त दुई कम्युनिष्ट पार्टीको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानूनसम्मत र पद्धतिसम्मत हुने उल्लेख छ । यसरी पार्टीलाई विधान, विधि र पद्धतिअनुरुप सञ्चालन गरेर मात्र नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिने भेलाको निष्कर्ष छ

सर्वोच्च अदातलको फैसलामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पुनः एकीकरणको सम्भावनाबारे छलफल गर्न निर्वाचन आयोगले दिएको १५ दिनको समयको उपयोग गर्दै पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाइ छलफल गर्नुपर्ने मागसमेत भेलाले गरेको छ । राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समाजवादउन्मुख शासन प्रणालीको विकास गर्दै सामाजिक रुपान्तरण, सामाजिक न्याय तथा समृद्धिका लागि एकता र सहकार्यको मार्गमा अग्रसर हुन भेलाले सम्पूर्ण कम्युनिष्ट पार्टी र समूहलाई आह्वान गरेको छ । त्यस्तै भेलाले कोरोनाको महामारीबाट जनतालाई जोगाउनका लागि भरपर्दो खोपको व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया