कर लिएर पनि नगरपालिकाले उठाएन फोहर

जलेश्वर । जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताए । उनले नगरपालिकाले सरसफाइकै नाममा बर्सेनि लाखौँ रकम छुट्याउने र जनताबाट समेत लाखाैं रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेकोे आरोप लगाए ।

तराई–मधेसकै सबैभन्दा पुरानो सदरमुकाम मध्येको एक रहेको जलेश्वर अझै पनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवा विजयकुमार गुप्ताको भनाइ छ । उनका अनुसार जलेश्वरकै विकासको नाममा बर्सेनि करोडौँ रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुन सकेको छैन । जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन् । ती सरकारी कार्यालयकै आसपासमा फोहरको डंगुर देखिएको स्थानीयवासी लक्ष्मीकुमार साहले बताए । उनले जलेश्वरवासी २४सै घण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे ।

जिल्ला अदालत, कारागार, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, हुलाक, जिल्ला प्रशासन, जिल्ला समन्वय लगायतका सरकारी कार्यालयका आसपासमै फोहरको डंगुर छ । ०२९ सालमा नै स्थापना भएको नगरपालिकाले अहिलेसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन । अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ । नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्र्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासीको गुनासो छ । बजार क्षेत्रका ढल बजारवासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ । ढलमा खानेपानीका बोतल, प्लास्टिक लगायतका फोहरका डंगुरले ढल पूर्णरूपमा बन्द भएका छन् । नगरपालिकाले दैनिक फोहर संकलन गरेर बजारलाई सफा बनाउने काम गर्दै आएको वडा–२ का वडाध्यक्ष वरुण दाहालले बताए ।

प्रतिक्रिया