हात्तीबाट बच्न गणेशको पूजा गर्दै पदमबहादुर

बिहानीपख भालेको डाकसँगै बारीमा सर्याकसुरुक्क आवाज आएपछि झस्किएकी पवित्रा राईले मस्त निद्रामा रहेका पति पदमबहादुरलाई ब्युँझाउँदै भनिन्, ‘छिटो उठ्नुस्, भागौँ, हात्ती आइसक्यो ।’ झापाको भद्रपुर नगरपालिका–१ दशरथपुरमा बाँसका बोरा र टिनको छानो भएको सानो घरमा बस्दै आएका छन पदमबहादुर राई दम्पती । उनीहरू नजिकको जलथल जंगलबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट बच्न एक महिनाअघि गरेको प्रयास थियो त्यो । ‘पत्नीले बिउँछाएपछि ओछ्यानबाट उठेर आँखा मिच्दै आँगनमा पुगेँ’, ६६ वर्षीय पदमबहादुरले हात्तीसँगको मुठभेडमा कालको मुखबाट उम्किएको कथा सुनाउन थाले । ‘लामो दाह्रा हल्लाउँदै एउटा हात्ती मेरो अघि उभिएको थयिो । म पूर्वतिर सास नफेरी भागेँ । २० फड्को मारिनसक्दै हात्तीले लखेटेर समायो । सुँढले बेरेर पहिले लडायो, अनि खाँबो जत्रो खुट्टा र भालुबास जत्रो सुँढले लतार्न थाल्यो । म खेतको आली मुन्तिर ढुन्मुनिएर पछारिएँ ।’

पदमबहादुर भन्दै थिए, ‘उसले मलाई टाङमुनि हालेर कुल्चेर मार्न खोजिरहेको थियो । मैले बाँच्ने आश मारिसकेको थिएँ । तैपनि मर्ने नै भइसकेपछि किन नभिड्नु भन्ने सोचेर हातमा भएको फगि लाइटले उसको सुँढमा लगातार बेस्मारी हिर्काइरहेँ । मलाई सँुढले बेर्न खोजिरहेको थियो । दाह्राले मलाई भुइँमा धस्न खोज्यो । उसको दाह्रा आलिको डिल भत्काउँदै छलिएर गयो । उसले खुट्टाले कुल्चिन खोज्यो, मैले सर्पले झैँ जीउ बटारेर छलेँ । भुइँको माटोको धुलो मुठ्याएर हात्तीको आँखैमा फ्याँकिदिएँ । फेरि फगी लाइट र मुड्कीले उसको सँुढको टुप्पो र निधारमा हिर्काइरहेपछि हात्ती क्वाँ गर्दै कराएर पछाडि हट्यो ।’

घरजत्रो भीमकाय जंगली हात्तीलाई भिडन्तमा यसरी पराजित गर्न सकुँला भन्ने उनले कल्पनासम्म गरेका थिएनन् । माघ महिनामा चारैतिर बाक्लो हुस्सु लागेका कारण नजिकैको वस्तु देख्न मुस्किल थियो । मुठभेडमा हात्ती हच्किएर ५० मिटर जति पर भागेपछि पदमबहादुरले लामो सास फेर्दै परालको माचमा छलिएर बँचेखुँचेको तागत निकाल्दै पूर्वैतिर घस्रिएर भागेको बताए । ‘म जसोतसो पल्लो गाउँको छेउमा पुग्दा गाउँलेहरू मतिरै आउँदै गरेजस्तो लाग्यो । पतिलाई हात्तीले मा¥यो, बचाउ बचाउ’ भन्दै मेरी पत्नीले गाउँलेहरूलाई गुहारेर ल्याउँदै गरेको भेटेँ । जब मलाई उनीहरूले जिउँदै देखे, अनि त सबैजना छक्क परे ।’ उनले त्यो रातको कथा सुनाए । पवित्रा पवित्रा राई भने हात्तीले आफ्नो पतिलाई आक्रमण गरेर मारेको ठानी गुहार माग्दै पल्लो गाउँ पुगेकी थिइन् ।

पदमबहादुर बस्ने भद्रपुर–१ मा विगत तीन वर्षमा तीन जनाले हात्तीको आक्रमणमा मृत्युवरण गरिसकेका छन् । मुठभेडमा बाँच्नेमा उनी एक्लो हुन् । प्रायः हात्तीले मानिसमाथि आक्रमण गर्दा सुँढले बेरेर भुइँमा पछार्ने, बलिष्ठ खुट्टाले कुल्चिने र तिखो दाह्राले शरीरमा धस्ने गर्दछ । हात्तीले पदमबहादुरलाई आक्रमण गर्दा मार्नका लागि सक्दो प्रयास गरेको थियो । हात्तीको ज्यानमारा आक्रमणबाट बाँच्नुलाई अर्को जन्म ठानेका उनले त्यसपछिका रातहरू पनि ढुक्कले निदाउन सकेका छैनन् । हात्तीको आक्रमणमा उनको ढाड, खुट्टा र हातमा चोट लागेको थियो । अहिले पनि ती चोटहरू दुखिरहने गरेको उनले बताए । उपचारका लागि एक दिन मेची अञ्चल अस्पतालमा बिताएपछि पदमबहादुर दम्पतीले १३ दिनसम्म घरमा दैलो लगाएर पल्लो गाउँका चन्द्रबहादुर सुब्बाको घरमा शरण लिएर रात बिताउनुपरेको थियो ।

हात्तीसँगको मुठभेडमा बाँचेपछि एक दिन भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले फोन गरेर ‘पदम दाइ म भेट्न आउन सकिनँ, नयाँ जीवनको शुभकामना छ’ भनेको उनले सुनाए । एक दिन बाँचे पनि हरेक दिन हात्ती गाउँ पस्ने गरेका कारण पदमबहादुरको मनमा त्यस्तै घटना फेरि दोहोरिने हो कि भन्ने चिन्ता बाँकी नै छ । ‘घाइते भएको हात्ती बदला लिन फेरि आउँछ भनेर गाउँलेहरूले डर देखाउनुभएको छ । रातभरि निन्द्रा लाग्दैन । उहाँ (पदमबहादुर) पनि राती हात्ती आएको सपना देखेर झस्किएर ब्युँझिने गर्नुहुन्छ,’ पदमबहादुरकी पत्नी पवित्रा राईले भनिन् । हात्तीको आक्रमण फेरि नहोस् भनेर उनीहरूले घरको पहिलो ढोकानेर गणेशको मूिर्त राखेर दैनिक पूजापाठ गर्न थालेका छन् । ‘हात्तीलाई मैले सुँढ र निधारमा हिर्काएर चोट लगाएको छु । त्यो चोटको बदला दिन नआउनुहोस् भन्दै गणेश भगवान्सँग माफी माग्दै पाठपूजा गर्दैछु । गाउँलेहरूको सल्लाह मानेर यसो गरेको हुँ,’ गणेशको मूिर्त राखेको स्थान देखाउँदै पदमबहादुरले भने ।

उनीहरूको घरसँगै सडक जोडिएको छ । सडकसँग जलथलको घना चारकोशे जंगल टाँसिएको छ । वरिपरिका सात घर हात्तीको त्रासले बसाइँ हिँडेर अन्यत्रै गएपछि अहिले पदमबहादुरको घर एक्लै भएको छ । अर्को जन्म पाएसरहका उनको अवस्था बुझ्न स्थानीय सरकार र सम्बद्ध निकायबाट आजसम्म कोही पुगेका छैनन् । २५ वर्षदेखि बसोवास गर्दै आएका उनले सरकारबाट पुनर्वास परियोजनामार्फत् पाएको १५ कठ्ठा पाखो जग्गा छाडेर बसाइँ हिँड्न चाहेका छैनन् । ‘बेचौँ भने जग्गा कसैले किन्दैन, छाडेर जान मनले मान्दैन,’ उनले भने, ‘लगाएको मकै, कोदो, धान र तोरी बाली पनि हात्तीले नै खाइदिन्छ । बाँच्न गाह्रो भएको छ हामीलाई’ दिनभर जंगलमा आराम गर्ने हात्तीले रात परेपछि गाउँमा पसेर बाली खाएर र कुल्चेर क्षति पु¥याउने गरेका छन् ।

घर माया मार्न नसकेपछि पदमबहादुरले हात्तीबाट बँच्न घर वरिपरि बिजुलीको तार टाँगेका छन् । राती ८ बजेपछि त्यो तारमा बिजुलीको करेन्ट प्रवाह गरिन्छ । बिहान ४ बजे मात्र करेन्ट बन्द गरिन्छ । उनले आफ्नो घर चारपटक हात्तीले भत्काउने प्रयास गरिसकेको बताए । हात्तीको डरले साँझ परेपछि घरभित्र पसेर दैलो लगाउने गरेका उनले बिहान उज्यालो भएपछि मात्र ढोका खोलेर बाहिर निस्कने गरेको बताए ।

स्थानीयवासीका अनुसार चारकोशे जलथल जंगलमा तीन वटा हात्ती बस्दै आएका छन् । आहारको खोजीमा गाउँ पसेका बेला तिनले घर भत्काउने र मानिसमाथि हिंसात्मक आक्रमण गर्दै आएका छन् । सरकारले जंगल वरिपरि विद्युतीय तारबार गरेको छ । तर त्यसलाई छिचोलेर हात्ती गाउँमा सजिलै पुग्ने गरेका छन् । थुप्रै स्थानमा बिग्रिएका विद्युतीय तारबारको समयमै मर्मत सम्भार हुने गरेको छैन । एक दशकअघिसम्म झापाको उत्तरी क्षेत्रका बाहुनडाँगी, बुधबारे, मेचीनगर र खुदुनाबारीमा मात्र हात्तीको आक्रमण हुन्थ्यो । तर अचेल जिल्लाको दक्षिणी क्षेत्रका भद्रपुर, कचनकबल, हल्दिबारी र बाह्रदशी पालिकामा जंगली हात्तीको आक्रमण र त्यसबाट हुने क्षति बढिरहेको छ । मानवीय क्षतिसमेत बढेको बढ्यै छ ।

ग्यास्ट्रिक, प्रेसर, दम, प्रोस्टेटलगायतका विभिन्न रोगका बिरामी रहेका पदमबहादुर दम्पतीलाई रोग र भोकले भन्दा हात्तीको आक्रमणबाट अकालमा मरिएला कि भन्ने त्रासले सताएको छ । आफूसँग रहेको एउटा फगि लाइट हात्तीसँगको भिडन्तमा फुटेर बिग्रिएपछि उनीसँग अहिले राती बाहिर हेर्ने उज्यालोको अर्को कुनै प्रबन्ध छैन । सरकारका कुनै निकायले पनि उनीहरूलाई हात्तीबाट बचाउन सहयोग गरेका छैनन् । पदमबहादुर हात्तीको जतसिुकै त्रास भए पनि थातथलो छाडेर नजाने बताउँछन् । उनको ३५ वर्षीय जेठो छोरा किशोर र ३० वर्षीय कान्छो छोरा मनकुमार छन् । जेठो छोरा ब्रेन ट्युमरको बिरामी भएपछि बुहारीले पनि छाडेर गइसकेको र उपचारमा १६ लाख खर्च भइसकेको उनले बताए । उनका अनुसार दुवै छोरा वैदेशिक रोजगारीमा गएर फर्किए पनि सबै कमाई उपचारमै सकियो ।

सरकारले हात्तीले मानिसको मृत्यु हँुदा १० लाख राहत मृतकका परिवारलाई प्रदान गर्दै आएको छ । झापामा हात्तीको आक्रमण बन्द गर्ने भरपर्दो कुनै प्रबन्ध नहुँदा बर्सेनि मानसिको ज्यान जाने गरेको छ । जंगलमा घाँस काट्न जाँदा, बाटोमा हिँड्दा मात्र होइन, घरमा राती सुतिरहेका बेलासमेत आक्रमण हुँदा हात्तीका कारण सर्वसाधारणको ज्यान जाने गरेको छ । मृत्युको मुखबाट फुत्किएर बाँचेका पदमबहादुर जस्ता नागरिकका लागि भने सरकारले अलिकति सहानुभूतिस्वरूप आर्थिक सहयोग पु¥याउन सकेको छैन ।

प्रतिक्रिया